सांसद सिफारिस गर्दा तीन दलको सूची मिलेन

काठमाडाैं – कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीले प्रतिनिधिसभा समानुपातिकतर्फको सांसद सिफारिस गरेर निर्वाचन आयोगमा बुझाएको बन्दसूचीका केही नाम सच्याउनुपर्ने भएको छ ।

निर्वाचन ऐन ०७४ अनुसार समावेशीसमूहको प्राथमिकता क्रमलगायतका आधारमा उम्मेदवार छनोट नभएको भन्दै आयोगको सोमबार बसेको बैठकले तीन दलको सूची अस्वीकार गरेको हो । बुधबार साँझसम्म नाम सच्याएर पुनः पठाउन तीनवटै दललाई पत्राचार गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनमा समावेशिताका आधारमा समानुपातिक उम्मेदवारमा खसआर्य ३१.२, आदिवासी जनजाति २८.७, मधेसी १५.३, दलित १३.८, थारू ६.६ र मुस्लिम ४.४ प्रतिशत पुर्याएर नाम पठाउनुपर्ने उल्लेख छ ।

त्यससँगै ऐनको दफा ६० को उपदफा ६ मा सूचीमा यथासम्भव पिछडिएको क्षेत्र तथा अपांगता भएको व्यक्तिको समेत प्रतिनिधित्व गराउनुपर्ने प्रावधान राखिएको छ । तर, कांग्रेसले दुई, माओवादी र राजपाले एक÷एकजना त्यो प्रावधानअनुरूप नपठाएको भन्दै आयोगले अस्वीकार गरेको हो ।

प्रतिक्रिया दिनुहोस्