राष्ट्रियसभामा सरकारको मनोनयन राष्ट्रपतिद्धारा अनुमोदन भएरै छाड्छ :मन्त्री बस्नेत
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सरकारले राष्ट्रियसभा सदस्यमा गरेको ३ जनाको मनोनयन राष्ट्रपतिले अनुमोदन गर्ने बताएका छन् ।
मंगलबार रिपोर्टर्स क्लबमा मन्त्री बस्नेतले सरकारले राष्ट्रियसभामा मनोनित गोपाल बस्नेत, कृष्ण पौडेल र चाँदनी जोशीको नाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाइसकेको जानकारी दिँदै उक्त नाम अनुमोदन हुने दाबी गरे ।
उनले प्रधानमन्त्रीले गरेका सिफारिलाई राष्ट्रपतिले अस्वीकार गर्नै नमिल्ने जिकिर गरे । ‘यदि प्रधानमन्त्रीले संविधानसम्मत रुपमा गरेका सिफारिसहरुलाई राष्ट्रपतिले अस्वीकार गर्नुभयो भने यो त क्याविनेट प्रणालीमाथिको प्रश्न हो नि, मलाई विश्वास छ, राष्ट्रपतिले नाम अनुमोदन गर्नुहुन्छ’ उनले भने ।
मन्त्री बस्नेतले एमाले अध्यक्ष ओलीसहित कतिपय शीर्ष नेताहरुले सरकारले गरेका निर्णयहरु अब बन्ने सरकारले नमान्ने भनेर सार्वजनिक अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाए ।
‘एमाले अध्यक्ष केपी शर्मा ओलीले हामीले गरेको मनोनित मान्दैनौं भनेको सुनियो, पार्टीको बैठकले वा मुखले आफू अनुकुल भनेर हुँदैन नि, लहडमा बोल्ने काम हिजो पनि भएको थियो, हामीले त संविधान अनुसार काम गरिरहेका छौं’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्