ओली र प्रचण्ड सहअध्यक्ष हुने गरी एकताको खाका तयार हुँदै

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकृत पार्टीको नेतृत्व दुवै पार्टीका अध्यक्षले संयुक्त रुपमा गर्नेगरी एकताको खाका तयार हुँदैछ ।

सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको एक्लाएक्लै वार्तामा दुवैले सहअध्यक्ष लिनेगरी पार्टी एकता गर्ने सहमति भएको हो । यो सहमतिलाई अन्तिम रुप दिन मंगलबार पनि ओली र प्रचण्डबीच छलफल हुँदैछ ।

सहमतिअनुसार ओली र प्रचण्ड दुवैले पार्टी बैठकको आलोपालो अध्यक्षता गर्नेछन् । यस्तै एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने सहमति भएको छ । सरकारको नेतृत्व आलोपालो गर्ने कि ओलीले मात्र ५ वर्ष चलाउने भन्नेबारे कुरा मिल्न बाँकी रहेको नेताहरुको भनाई छ । मंगलबार बस्ने ओली र प्रचण्डको छलफलले सबै विषयमा सहमति जुटाउनेछ ।

नयाँ सरकार गठनअघि नै एकताको खाका टुंग्याउने दुई दलको तयारी छ । आउँदो हप्ताभित्र नयाँ सरकार गठन भैसक्ने भएकाले एक दुई दिनमै पार्टी एकताको खाका तयार हुने दुवै दलका नेताहरुले बताएका छन् ।

एकीकृत पार्टीको नेतृत्व कसरी गर्ने भन्नेमा समझदारी नबन्दा चुनाव सकिएको दुई महिनासम्म एकता प्रक्रियाले गति लिन सकेको थिएन । दुवैले अडान छाडेपछि एकताको गाँठो फुकेको हो ।

प्रतिक्रिया दिनुहोस्