प्रदेश ५ को सभामुखमा माओवादीले घर्तीलाई पठाउने

काठमाडौं । माओवादी केन्द्रले प्रदेश नं ५ को प्रदेशसभाको सभामुखमा रुकुमका पूर्णबहादुर घर्तीलाई पठाउने निर्णय गरेको छ। यो प्रदेशमा फागुन २ गते सभामुख चयन गर्ने प्रदेशसभाको कार्यसूची तय भएको छ।

माओवादी प्रदेश संसदीय दलको आइतबार राति अबेरसम्म चलेको बैठकले घर्तीलाई सभामुखसहित संसदीय दलको उपनेतामा प्युठानका कृष्णध्वज खड्का, दलको प्रमुख सचेतकमा रुपन्देहीका दधिराम न्यौपाने र सचेतकमा दाङकी दामा शर्मालाई बनाउने निर्णय गरेको माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीले जानकारी दिए।

यसअघि सभामुखमा गुल्मीका सुदर्शन बराल र घर्तीको नाम चर्चामा आए पनि दलले घर्तीलाई सभामुखमा पठाउने निर्णय गरेको हो। माओवादीले केन्द्रको यसअघि आइतबार बिहान बसेको संसदीय दलको बैठकले रोल्पाका कुलप्रसाद केसीलाई संसदीय दलको नेता चयन गरिसकेको थियो।

यस्तै संसदीय बोर्डको सचिवमा पाल्पाका वसन्त घर्तीलाई छनोट गरेको समेत नेता केसीले जानकारी दिए। प्रदेश नं ५ मा सरकार निर्माणको प्रक्रिया अघि बढाउन आइबार नेकपा एमाले र माओवादी केन्द्रका संसदीय दलका नेताले बहुमत प्रदेश सदस्यको समर्थनसहित प्रदेश प्रमुखलाई पत्र बुझाएका छन्।

प्रतिक्रिया दिनुहोस्