दलसँग छलफल नगरी सिफारिस गरिएका नाममा राष्ट्रपतिको असन्तुष्टि

काठमाडौं । राष्ट्रियसभा सदस्यका लागि मन्त्रिपरिषदले सिफारिस गरेको तीन नाममा राष्ट्रपति विद्यादेवी भण्डारीले असन्तुष्टि जनाएकी छन् । दलहरुसँग छलफल नगरी सिफारिस गरिएको भन्दै राष्ट्रपतिले सिफारिस गरिएका नामहरुप्रति असन्तुष्टि व्यक्त गरेकी हुन् ।

शुक्रवारको मन्त्रिपरिषद बैठकले कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीको नाम राष्ट्रियसभामा मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । तर राष्ट्रपतिले दलहरुसँग परामर्श नगरी नामहरु सिफारिस गरेको भन्दै ती नामहरुप्रति असन्तुष्टि जनाएकी छन् ।

संविधान अनुसार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले तीन सदस्य मनोनयन गर्ने व्यवस्था छ । राष्ट्रियसभाका ५९ मध्ये ५६ जना निर्वाचित भइसकेका छन् । शनिबार विदा भएकाले मन्त्रिपरिषदको सिफारिसको बारेमा अध्ययन गर्न बाँकी रहेको राष्ट्रपति कार्यालयका एक उच्च अधिकारीले बताए ।

वामपन्थी गठबन्धनले अत्यधिक बहुमत पाएर सरकार गठन गर्न लागेका बेला कांग्रेसले एकलौटी रुपमा तीनजनाको सिफारिस गरेकाले तीनै व्यक्तिलाई राष्ट्रपतिले तत्काल मनोनयन गर्ने सम्भावना नरहेको स्रोतले जनाएको छ । राष्ट्रपतिले आवश्यक परामर्शपछि यसबारे निर्णय हुने ती अधिकारीले बताए ।

सरकारले सिफारिस गरेकामध्ये पौडेल कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव हुन् भने बस्नेत कांग्रेसका झापा जिल्लाका पूर्व सचिव हुन् । जोशी अन्तर्राष्ट्रिय गैर सरकारी संस्थामा काम गरेकी महिला हुन् ।

प्रतिक्रिया दिनुहोस्