मुख्यमन्त्रीको टुङ्गो लगाउन दुई पूर्वगृहमन्त्री सुर्खेतमा
काठमाडौं । मुख्य मन्त्रीको गाँठो फुक्न नसकेपछि त्यसको टुङ्गो लगाउन नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वगृहमन्त्रीद्वय शक्तिबहादुर बस्नेत र जनार्दन शर्मा सुर्खेत पुगेका छन्।
सो मुद्दामा दुई फरक मत राख्दै आएका पूर्वगृहमन्त्रीहरुको मंगलबार साँझ बैठक बसेको हो । बैठकमा मिलेर मुख्यमन्त्रीको मुद्दा टुङ्ग्याउने सहमति भएको छ । समग्र ६ नं प्रदेशको समृद्धि र पार्टीको आन्तरिक जीवनमा देखिएका समस्या हल गर्न तथा पिछडिएको प्रदेशलाई समृद्धिमा बदल्न एकरुपताका साथ अघि बढ्ने समझदारी भएको जनाइएको छ ।
मुख्यमन्त्री चयन लगायतका विषयमा छलफल गर्न ६ नं प्रदेशमा रहेका पोलिटब्यूरो सदस्यहरुको आज बुधबार विहान ११ बजे बैठक बोलाइएको नेकपा माओवादी केन्द्र सचिवालय सदस्य तथा ६ नं प्रदेश संयोजक मायाप्रसाद शर्माले जानकारी दिईन । लामो समयदेखि फरक फरक तरिकाले आ–आफ्ना गतिविधि गरिरहेका दुवै पूर्वगृहमन्त्री मंगलबार साँझ एउटै कार्यक्रममा देखिए ।
मुख्य मन्त्रीको दाबी कायम राखेका सांसदद्वय नरेश भण्डारी र महेन्द्रबहादुर शाहीले सहमतिको निर्णय आफ्नै पक्षमा हुने अपेक्षा गरेका छन् । पूर्वगृहमन्त्रीबीच यो सगोल बसाइबाट सही निर्णय आउनेमा नेता तथा कार्यकर्ता विश्वस्त देखिएका छन् ।
प्रतिक्रिया दिनुहोस्