माअाेवादी केन्द्र र एमाले एकता संयोजन समितिको बैठक बस्दै

काठमाडौं । पार्टी एकता प्रक्रियाबारे छलफल गर्न बाम एकता संयोजन समितिको बैठक आज बस्दैछ । राष्ट्रियसभा सदस्य निर्वाचनमा साझा उम्मेदवारीसँगै प्रादेशिक सरकारमा ७०र३० को भागबण्डा गरेका एमाले र माओवादी केन्द्रले आजबाट एकीकरण प्रक्रियाबारे छलफल गर्न लागेका हुन् ।

समितिको बैठक सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यलयमा अपरान्ह ३ बजे बस्दैछ । आजको बैठकमा पार्टी एकता प्रक्रियाबारे ठोस छलफल हुने एकता संयोजन समितिका सदस्य एवं माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

बाम एकताबारे लामो समयदेखि छलफल भएपनि नेताहरुको पदिय जिम्मेवारीको बाँडफाँड तथा पार्टीको आगामी सिद्धान्तबारे छलफल भएको छैन ।

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच एकले सरकारको नेतृत्व गरे अर्कोले पार्टी चलाउने भनिएपनि ठोस सहमति हुन सकेको छैन । एकता प्रक्रियामा दोस्रो तहका नेताको व्यवस्थापन गर्न पनि समस्या भएको छ ।

पार्टीको आगामी सिद्धान्त र कार्य दिशा तथा पदीय बाँडफाँडबारे आजबाट छलफल शुरु गरिने र छिट्टै निश्कर्षमा पुगिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्