आकांक्षी मिलाउँदै ओली

काठमाडौ । एमाले अध्यक्ष केपी ओलीले पार्टीभित्र मुख्यमन्त्रीका आकांक्षी नेताहरूलाई एक्लाएक्लै भेटेर आन्तरिक सहमति गराउने प्रयास थालेका छन् । राष्ट्रियसभाको निर्वाचनलगत्तै संसदीय दलको नेता चयन गर्नुपर्ने भएकाले सकेसम्म सहमतिबाटै चयन गर्न अध्यक्ष आफैंले आकांक्षी भेट्न थालेका हुन् ।

संसदीय दलभित्र चुनाव गर्दा सांसदहरू दुई समूहमा विभाजन हुने भएकाले सकेसम्म मिलेर नै नेता चयन हुने गरी अघि बढ्न ओलीले सुझाव दिएका छन् । माघ २४ मा राष्ट्रिय सभा निर्वाचन हुन भएकाले त्यो अवधिसम्म सहमति प्रयास गर्ने र केन्द्रीय नेताबीच पनि समझदारी बनाउने गरी ओली सक्रिय भएका हुन् ।

‘उनले आकांक्षीका कुरा के–के छन् भन्ने बुझिरहेका छन्,’ ओली निकट एक नेताले भने, ‘सर्वसम्मतिबाट चयन हुन सक्यो भने राम्रो सन्देश जान्छ भनेर पहल गर्नु भएको हो ।’

एमालेको भागमा परेका प्रदेश ५ बाहेक अन्य तीनवटा प्रदेशमा मुख्यमन्त्री को बन्ने भन्ने तीव्र प्रतिस्पर्धा छ । आकांक्षीहरूले आफू निकट सांसदहरूको समूह निर्माण गर्न थालिसकेका छन् । आफ्नो पक्षमा रहने सांसदहरूको हिसाब देखाउँदै उनीहरूले शीर्ष नेतासमक्ष लबिइङ गरिरहेका छन् ।

एमालेभित्र प्रदेश १ मा सचिव भीम आचार्य र पोलिटब्युरो सदस्य शेरधन राई आकांक्षी छन् । प्रदेश ३ मा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डे प्रबल दाबेदार छन् ।

प्रतिक्रिया दिनुहोस्