एमालेद्वारा मतदातालाई अभिमुखीकरण सुरु: माओवादी केन्द्र मुख्यमन्त्री र सभामुख चयनको छलफलमा

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभाको निर्वाचनका लागि मतदातालाई अभिमुखीकरण तालीम सञ्चालन गर्ने भएको छ । माघ २४ गते हुने निर्वाचनमा मतदान कसरी गर्ने भन्नेबारेमा सिकाउन आजबाट अभिमुखीकरण तालीम सञ्चालन गर्ने भएको हो ।

माघ २१ गतेसम्म प्रत्येक प्रदेशमा मतदातालाई आफ्ना उम्मेदवारलाई मत हाल्न अभिमुखीकरण तालीम सञ्चालन गरिने एमाले नेता सुवास नेम्वाङले जानकारी दिए । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश सदस्य तथा स्थानीय तहका प्रमुख–उपप्रमुख मतदाता छन् । साथै एमालेले प्रदेश मुख्यमन्त्री र प्रदेशमन्त्रीको चयन राष्ट्रियसभाको निर्वाचनपछि गरिने समेत जनाएको छ ।

केहीदिनभित्रै मुख्यमन्त्री र सभामुख
नेकपा माओवादी केन्द्रले केही दिनभित्रै प्रदेश मुख्यमन्त्री र सभामुख चयन गर्ने भएको छ । एमाले र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार प्रदेश ६ र ७ को मुख्यमन्त्री पाएको माओवादीले एक–दुईदिन भित्रै मुख्यमन्त्री र सभामुख चयन गर्ने भएको हो ।

मुख्यमन्त्रीमा आकांक्षी बढेपछि पार्टीका प्रदेश इन्चार्जसँग छलफल गरेर केन्द्रले आवश्यक निर्णय लिने प्रवक्ता पम्फा भुसालले जानकारी दिए । प्रदेश ६ र ७ को मुख्यमन्त्री पाएको माओवादीले प्रदेश नम्बर १, ३, ६ र ७ मा उपसभामुख पाएको छ । प्रवक्ता भूसालले आधारमा तोकिएका पदमा उपयुक्त व्यक्ति छनोट गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्