आज दर खाने दिन ! तर कोरोनाले छैन रौनक, तीजको दिन पनि पशुपतिको ढोका नखुल्ने

काठमाडौँ , भदौ ४ । हरितालिका तीजको अघिल्लो दिन आज महिलाहरूले दर खाँदै छन् ।भाद्र शुक्ल द्वितीया अर्थात हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु नारीहरुले दर खाने परम्परा छ ।दर खाने दिनको भोलिपल्ट तीज पर्व पर्दछ । तीजको दिन निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएका खानेकुरा खाने चलन चलेको बताइन्छ ।

दर खाने दिनमा विभिन्न मीठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने चलन छ ।दर खाने दिनसँगै चार दिनको तीज पर्वको शुरूवात भएको समेत मानिन्छ ।तीजको पहिलो दिन दर खाने चलन छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा भए पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण धेरै महिला घरमै छन् ।

बुधबार मध्यरातदेखि काठमाडौँ उपत्यकामा निषेध आदेश एवं देशका मुख्यमुख्य शहरमा कोरोनाबाट बच्न बन्दाबन्दी जारी गरिएकाले धेरैले कर्म घरमै दर खाएर तीज मनाउँदै छन् ।तीजको व्रत बस्न सक्नेहरु निराहार हुने भएकाले आज शक्ति प्राप्तिका लागि आडिलो परिकार दरका रुपमा खाई शुक्रबारको व्रतका लागि पूर्व तयारी गर्छन् ।

विशेषगरी माइती एवं दाजुभाइले छोरी, चेली एवं दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्छन् । दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा।डा रामचन्द्र गौतम बताउँछन् ।

बिहीबार दर खाएपछि औपचारिक रुपमा शुरू हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेशको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तर्षिको पूजा गरी तीज समापन हुन्छ ।

यस वर्ष गणेशको उत्पत्ति भएको विश्वास गरिने गणेश चौथी यही भदौ ६ गते र ऋषिपञ्चमी पर्व भदौ ७ गते मनाइने समितिले जनाएको छ ।गणेश चौथी प्रातःकालमा तिथि परेका दिन मनाइन्छ । ऋषिपञ्चमी भने मध्याह्नकालमा पञ्चमी परेका दिन मनाउनुपर्ने शास्त्रीय विधि छ ।

पुराणअनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेव पति पाउने वरदान पाएकी थिइन् ।तीजका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा लाखौँ महिलाको भीड लाग्ने गरेकामा यस वर्ष कोरोना फैलन थालेपछि धेरै मन्दिर चैतदेखि नै बन्द गरिएको छ ।

पशुपतिनाथ मन्दिर गत चैत ११ गतेदेखि नै बन्द छ । काठमाडौँ उपत्यकामा कोरोनाको महामारी फैलँदै गएकाले तीजमा मन्दिर नखुल्ने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा।प्रदीप ढकालले जानकारी दिए ।परापूर्वकालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ अविवाहिताले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तीज पर्व मनाउने चलन छ ।

तर यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण सामूहिक दर खाने र तीज मनाउन सरकारले रोक लगाएको छ । आफ्ना परिवारका सदस्यहरुसँग घरमै बसेर दर खान, तीज मनाउन र पूजापाठ गर्न सरकारले आग्रह गरेको छ । काठमाडौं उपत्यकामा दर खाने दिनदेखि नै निषेधाज्ञा जारी गरिएकाले यस वर्ष तीजको रमझम र चहलपहल छैन ।

तीजका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा लाखौँ महिलाको भीड लाग्ने गरेकामा यस वर्ष कोरोना फैलन थालेपछि धेरै मन्दिर चैतदेखि नै बन्द गरिएको छ । पशुपतिनाथ मन्दिर गत चैत ११ गतेदेखि नै बन्द छ । काठमाडौँ उपत्यकामा कोरोनाको महामारी फैलँदै गएकाले तीजमा मन्दिर नखुल्ने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा। प्रदीप ढकालले जानकारी दिए ।

राजधानीमा निषेधाज्ञा समेत जारी गरिएकाले तीजका बर्तालुले घरमै देवादिदेव महादेवको विधिपूर्वक पूजाराधना गरी यो पर्व मनाउँदै छन् ।

प्रतिक्रिया दिनुहोस्