रोजगारी खोज्दै बाहिरिनुपर्ने अवस्था केही वर्षमै अन्त्य हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं , साउन २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले युवा बाध्यताले रोजगारी खोज्दै बाहिरिनुपर्ने अवस्था केही वर्षमै अन्त्य हुने बताएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसको सन्भर्दमा राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको भर्चुअल कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले बाध्यात्मक वैदेशिक रोजगारीको अन्त्य गर्ने बताए ।केही वर्षभित्रै रोजगारीका लागि बाध्यताको हिसाबले बाहिर जाने स्थितिलाई अन्त्य गर्ने रणनीतिका साथ सरकारले काम गरिरहेको बताएका छन्।

“हाल २६ लाख युवा रोजगारी खोज्दै मुलुकबाहिर गएका छन् । ३ करोडभन्दा केही कम जनसंख्या भएको देशमा देश निर्माण गर्नुपर्ने २६ लाख जनशक्ति बाहिर जानु अवश्य नै खुसीको कुरा होइन । त्यसकारण यस दिशामा हामीले ठोस प्रयासहरू गरिरहेका छौं । हामी केही वर्षभित्रै रोजगारीका लागि, छनोटका हिसाबले बाहिर जानु बेग्लै कुरा हो । बाध्यताको हिसाबले बाहिर जाने कुराको अन्त्य गर्ने रणनीतिका साथ सरकार काम गरिरहेको छ । म युवाहरूलाई आश्वस्त पार्न चाहन्छु कि, तपाईंहरू अगाडि बढ्नुस् । सरकार तपाईंहरूको साथमा छ ।प्रधानमन्त्रीले युवाहरूको अभिभावकत्व, साथ(सहयोग, अवसर उपलब्ध गराउन सरकार दत्तचित्त रहेको पनि बताए ।

प्रधानमन्त्रीले सामाजिक जागरण र नीति(निर्माणका क्षेत्रमा सबैको समानुपातिक प्रतिनिधित्व रहेको भन्दै खुसी व्यक्त गरे । “बालबालिकाको नीति निर्माणमा सहभागिता हुने भएन । उत्पादनमा सहभागिता हुने भएन । उनीहरू भविष्यका कर्णाधार हुन् । उनीहरूलाई सक्षम बनाउनुपर्छ । सुरक्षामा ध्यान दिनुपर्छ । युवाहरूको सन्दर्भमा, ४० प्रतिशत युवा स्थानीय तह प्रतिनिधित्व गरिरहेका छन् । त्योभन्दा केही सानो संख्या संघीय तहमा र प्रदेश तहमा छन् । त्योभन्दा केही संख्या केन्द्रीय निकायमा छन् ।

अझ बढाउन जरुरी छ । बढाउँदा सन्तुलनकारी ढङ्गले नै बढाउनुपर्छ । पुरानो र नयाँ पुस्ता मिलेर नै क्षमता, अनुभव र सामर्थ्य, सबै चिजको सम्पूर्णरूपमा प्रयोग गरेर अघि बढ्नुपर्छ,” प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले नेपाल प्राकृति सम्पदा, स्रोत(सामर्थ्यका हिसाबले अद्भूत र जीवनमय रहेको बताउँदै पछाडि रहन, गरिब हुन मिल्ने देश नै नभएको बताए ।

“म चाहन्छु हाम्रा देशका युवाहरूले रोजगारीको खोजी गर्दै या जीवनको खोजी गर्दै अन्यत्र जानु नपरोस् । हाम्रोजस्तो देश, जो विद्वान् र बहादुर पुस्ताका सन्तान भएको देश हो । जुन देश प्राकृतिक हिसाबले अत्यन्त सुन्दर छ । जुन देश अत्यन्तै उर्वर छ । अत्यन्तै अद्भुत, असाधारण र जीवनमय छ । विविधताले युक्त र प्राकृतिक सम्पदाले सम्पन्न छ । त्यो देश पछाडि पर्न, गरिब हुन मिल्ने देश होइन यो विडम्बना हो ।

जुन कुरा आगामी दिनका लागि हामीलाई मान्य छैन । स्वीकार्य छैन । तर, मान्य छैन, स्वीकार्य छैन भनेर हामी बिनाप्रयास बस्यौं भने स्वीकार्न बाध्य हुनेछौं । त्यसकारण हामी हाम्रो अस्वीकार्यलाई व्यवहारद्वारा त्यसस्थितिमा पुर्‍याउनुपर्छ । यसका निम्ति सरकार रोजगारीका अवसर देशभित्रै सिर्जना गर्ने, युवाहरूको ज्ञान र क्षमता देशभित्रै प्रयोग हुने अवस्था सिर्जना गर्छौं,” उनले भने ।उनले सामाजिक जागरण र नीति निर्माणका तहमा समानुपातिक सहभागी गरिएको भन्दैसरकारले युवाहरुका लागि विभिन्न तहबाट विभिन्न कार्यक्रम सञ्चालन गरिएको बताए । उनले युवा स्वरोजगार, युवापरिषद रोजगार र सहयोगका कार्यक्रम गरिएको भन्दै त्यसका लागि ७६ अर्व बजेट छुट्याएको समेत जानकारी दिए ।

उनले अहिले ४० प्रतशत युवाहरुले स्थानीय तहमा प्रतिनिधित्व गरिरहेको भन्दै त्योभन्दा केही कम प्रदेश र संघीय तहमा प्रतिनिधित्व युवाबाट भएको बताए । उनले यो प्रतिशतलाई बढाउदै लैजाने पनि प्रतिवद्धता जनाए । नयाँ र पुरानो पुस्ता मिलेर ज्ञान सिप, सामथ्र्य र अनुभव बाडेर देशका लागि प्रयोग गर्नुपर्ने भन्दै उनले युवाको क्षमता र सहभागिता बृद्धि गर्दै अघि बढ्नसकेमात्रै सामाजिक न्यायसहितको समृद्ध समाज निर्माण गर्न सकिने विश्वास व्यक्त गरे ।

उनले युवाहरुलाई अगाडि बढ्न आग्रह गर्दै सरकार साथमा रहेको, अभिभावकत्व, साथ सहयोग र अवसर उपलब्ध गराउन सरकार दत्तचित्त रहेको बताए। उनले देशको क्रियाशील जनशक्ति ६० प्रतिशत र युवा जनशक्तिको संख्या ४० प्रतिशतभन्दा बढी रहेको बताए।

प्रतिक्रिया दिनुहोस्