पार्टी एकतालाई शीघ्र निष्कर्षमा पुर्‍याउन बामगठबन्धनको यस्तो भयो सहमति ,

काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी एकतालाई शीघ्र निष्कर्षमा पुर्‍याउने सहमति गरेका छन् ।

ललितपुरमा आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा यस्तो सहमति भएको हो ।

राष्ट्रियसभा चुनावको मिति नजिकिएकाले सबैभन्दा पहिले त्यसलाई सफल बनाउने र प्रदेशका मुख्यमन्त्रीको विषयमा संयुक्त कार्यदलले तयार पार्ने प्रतिवेदनका आधारमा निर्णय गर्न समेत दुई पार्टीका अध्यक्ष तयार भएका छन् । अध्यक्ष ओली र अध्यक्ष दाहालबीच पाँच घण्टा एक्लाएक्लै छलफल भएको हो ।

राष्ट्रियसभामा वामपन्थीका उम्मेदवारलाई जिताउन प्रयास गर्ने र त्यसका लागि सबै तह र तप्कालाई संयुक्त निर्देशन दिने, स्थानीय तह र प्रदेशसभाका सदस्यलाई प्रभावकारी रुपमा चुनावमा सहभागी भएर वामगठबन्धनका उम्मेदवारको पक्षमा मत दिने वातावरण बनाउन दुवै पार्टीका अध्यक्ष सहमत भएका हुन् ।

बैठकबारे जानकारी दिँदै अध्यक्ष दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सिनाले राष्ट्रियसभा चुनावलाई सफल बनाउने विषयमा छलफल केन्द्रित रहेको उल्लेख गर्नुभयो । नयाँ सरकार गठन, पार्टी एकताबारे छलफल भए पनि निष्कर्षमा नपुगिएको बताइएको छ ।

छलफल जारी राख्दै शीघ्रातिशीघ्र पार्टी एकतालाई तार्किक निष्कर्षमा पु¥याउन अध्यक्षद्वय सहमत भएका हुन् ।

पार्टी एकता, प्रदेशका मुख्यमन्त्रीका विषयमा छलफल भए पनि कार्यदलले टुङ्ग्याएर ल्याउने प्रस्तावलाई अनुमोदन गर्ने सहमति पनि उहाँहरूबीच भएको छ ।

पार्टी एकताका सन्दर्भमा बाँकी रहेको विषयमा छलफल चलाउँदै एकतालाई निष्कर्षमा पुग्न थप गृहकार्य गर्ने विषयमा नै छलफल केन्द्रित रहेको प्रेस संयोजक तिमिल्सिनाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्