आजबाट नवरात्रीको शुरुवात र यसका विशेषता
नवरात्रीको शुरुवात आजबाट भयो, अब हरेक विहान देशका अनेक महत्वपूर्ण नव दूर्गा भगवतिका शक्तिपिठहरुमा श्रद्धालुहरुको भिड हुन्छ । विहान विहान जमराको पुजापाठ गर्ने गर्नुपर्दछ अनि दशमीको दिन यहि जमरा र चामल, रातो अविर, दहि अथवा केरा मिश्रीत अक्षता टीकाले निधार भरिन्छ भने आफ्ना मान्यजनहरूबाट प्राप्त आशिषले जीवनमा खुशीयालि प्राप्त गरिन्छ । जमराको मात्रा अर्थात् कति जमरा छर्ने भन्ने कुराचाँही परिवारको सङख्या अनुसार निर्धारण गरिन्छ, संयूक्त परिवारहरुले निकै ठुलो ठाँउमा जमरा छर्ने गर्दछन् भने थोरै परिवार सदस्य भएकाहरुले सानो ठाउँमा छर्ने गर्दछन् । यसरी छरिने जमरालार्इ माटोको चर्तुभूज आकारको बिच भागमा भने माटो या तामाको कलश स्थापना गरेर राखिन्छ । दशमीको दिन भने आवश्यक्ता अनुसार जमरालाई उखेलेर टिका लगाउन चाहिए जति झिक्ने गरिन्छ । यहि जमरा, टिका अनि सद्भावले दशैंको रौनक्ता बढाउँदछ ।
दशैंको जमरा राख्ने चलन भने ठाउँ अनुसारको फरक फरक छ । कतै सामूहिक रुपमा दशैंघर स्थापना गरेर, गुठीमा या शक्तिपिठ अनि मठमन्दिरमा जमरा राखिन्छ अथवा व्यक्तिगत रूपमा आफ्नै घरको पूजाकक्षमा या घरको अन्य कुनै सफा ठाउँमा जमरा राख्ने गरिन्छ । जमरा राख्दा त्यस्तो कोठा छनौट गरिन्छ जसमा प्रकाश राम्ररी नआओस् यसरी प्रकाश नपरेका जमराका वालाहरू पहेँला हुन्छन । घटस्थापनाबाट प्रारम्भ हुने दशैंको नवरात्र भनेको जमराको ९ दिने जीवन र दैनिक अकुंरणको प्रक्रिया पनि हो । जौको दाना भित्र रहेको जीवनशक्तिलाई जमराले उजागर गर्दछ र माटोले पोषण गर्दछ ।
सभ्यताको प्रक्रियालाई अनि इतिहासलाई हेर्दा मानवले जङ्गली यूगको समाप्तीसंगै ब्यवस्थितरुपमा कृषि गर्न थालेको पहिलो अन्न नै जौ हो । ठूूल्ठूला नदिको किनारामा भएको यो मानव सभ्यता प्रक्रियाको उत्खनन र अन्वेषण गर्दा मिश्रदेशहरु अनि चिनमा पनि हजारौं वर्ष पुराना जौको अवशेष भेटिएका छन् । संसारभरिनै जौलाई धेरै पुरानो अन्नकारुपमा विशेष महत्वका रूपमा हेरिन्छ । हाम्रा सनातन संस्कारहरु जौ, तुलसी, कुश र तिलबिना संकल्पित र पूर्ण हुन सक्दैनन् । नेवारी भाषामा भने जौ लाई तःछो भनिन्छ भने अंग्रेजीमा बार्ली भनिन्छ । जौको पौष्टिक्ता निर्विकल्प छ, टिभी रेडियोमा आउने विज्ञापनहरूमा धेरै पौष्टिक भनिएका आयातीत महँगा खानेकुराहरुमा पनि जौको मात्रा देखाएर नै प्रचार प्रसार हुने गर्दछ । यसमा ऐण्टिअक्सिडेन्ट र विटाक्यारोटीन लगायतका तत्वहरु पाइन्छ ।
यहि जौको अंकुरणलाई शिरमा राखेर टिका थाप्ने संस्कारले हरेक नेपालीहरुलाई सद्भाव, सदाचार, समृद्धी अनि दुर्गा भवानीको शक्ति प्राप्त होस् र जसरी छरिएको जमरा विस्तारै अंकुरण हुदै जान्छ त्यो प्रक्रियामा पहिले जरा माटोतर्फ बढ्न थाल्दछ अनि जरा पलाएपछि विस्तारै जमराका पातहरु माथि माथि बढ्न थाल्छ, त्यसैगरि शायद प्रकृतीले पनि हामीले हाम्रो जरा अर्थात संस्कार, परम्परा र मानवीय आधारहरुका बारेमा जानकारी दिएको पनि हुनसक्छ । बिरुवाहरु जतिसुकै ठूला, अग्ला र मोटा भएपनि, उनिहरुको हाँगाले आकाशै छुन खोजेतापनि जराभने माटोमै हुन्छ । अर्थात् हामीले जतिसुकै परिवर्तन या प्रगति गरेर आकाशै छोए पनि हाम्रो बहुमूल्य संस्कार र परम्पराको जग भने विर्षन हुँदेन भन्ने महत्व दर्शाउँदछ ।
यो दशैंमा सबैको जय होस्, मङ्गल होस्, भातृत्व बढोस् अनि शान्ती छाओस्, हाम्रो शिरमा जमरा शोभायमान रहोस्, बडादशैंको मंगलमय शुभकामना ।
प्रतिक्रिया दिनुहोस्