सांसद सरिता गिरि सांसद पद गुम्यो, पार्टीबाटै निष्काशित,

काठमाडौं, असार २३ । प्रतिनिधि सभाको सांसद सरिता गिरिलाई पार्टीबाट निष्काशित गरिएको छ । यो निर्णयसँगै समाजवादी पार्टीकी सांसद गिरिको सांसद पदबाट पनि पदमुक्त हुनुभएको छ ।

मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा गठित तीन सदस्यीय कार्यदलले गरेको सिफारिशका आधारमा गिरिलाई कारबाही गरेको हो ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्शाअनुसार निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरिले संशोधन प्रस्ताव दर्ता गराएको र पार्टीले फिर्ता लिन निर्देशन दिँदा पनि नमानेपछि यो कारवाही गरिएको हो ।

समाजवादी पार्टी भने नक्शालाई संविधानमा अद्यावधिक गर्ने पक्षमा रहेको थियो । संसदका सबै दलको सहमतिमा संविधान संशोधन गरिएको थियो ।

पार्टी सचिव एवं कार्यदल सदस्य मोहम्मद इस्तियाक राईले गिरिलाई सांसद पदबाट हटाएको जानकारी निर्वाचन आयोग र संसद सचिवालयलाई दिइने बताउनुभयो ।

जेठ २७ गते संविधान संशोधनका लागि भएको मतदानमा समाजवादी पार्टी संशोधनका पक्षमा उभिए पनि गिरिले संशोधनविरुद्ध राखेको प्रस्ताव फिर्ता नलिएकाले पार्टी रुष्ट बनेको थियो ।

यसबारेमा पार्टी महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा गठित कार्यदलले गिरिले पार्टी निर्देशन अवज्ञा गरेको ठहर गर्दै कार्वाहीका लागि सिफारिश गरेको हो । कार्यदलमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य थिए ।

प्रतिक्रिया दिनुहोस्