एमालेका राष्ट्रियसभा उम्मेदवारविरुद्ध कांग्रेस उम्मेदवारको उजुरी

काठमाडौं। राष्ट्रियसभाको निर्वाचनमा अपांग कोटाबाट उम्मेदवारी दिएका एमाले नेता रामबहादुर थापाविरुद्ध उजुरी परेको छ । स्याङ्जाका थापाविरुद्ध उनीसँगै प्रतिस्पर्धामा रहेका प्रकाश पन्थले उजुरी गरेका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा परेको उजुरीमा थापाको अपांगता परिचयपत्रमाथि प्रश्न उठाउँदै उम्मेदवारी बदरको माग गरिएको छ ।

०५७ मा लिएको अपांगता परिचयपत्र थापाले पेस गरेको र पछिल्लो निर्देशिका अनुसारको नयाँ कार्ड नभएकाले पुरानोको मान्यता नहुने दाबी उजुरीमा गरिएको छ । स्याङ्जा जिविसका पूर्वसभापति थापालाई द्वन्द्वकालमा माओवादीले मरणासन्न हुने गरी कुटपिट गरेको थियो ।

थापाले भने पुरानै परिचयपत्रका आधारमा राज्यका अरु सुविधा लिएको हुँदा नयाँ निर्देशिका अनुसार नयाँ कार्डका लागि प्रक्रियामा रहेकाले ढिलाइ भएको बताए ।

‘उजुरीका बारेमा शनिबार निर्वाचन आयोगले अन्तिम निर्णय गर्नेछ,’ क्षेत्रीय निर्वाचन अधिकारी तथा मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट अनुगमन अधिकृत तोकिएका गंगालाल सुवेदीले भने, ‘सबै कागजात केन्द्रमा पठाएका छौं ।’
थापा उम्मेदवार हुन पाउनेरनपाउने विषयमा शनिबार केन्द्रले जानकारी पठाउने सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्