राष्ट्रहितविपरीतका निर्णय नयाँ सरकारले खारेज गर्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले मुलुकलाई कंगाल बनाउन लागेको आरोप लगाएका छन् ।

सामुदायिक रेडियो प्रशारण संघ नेपालको १३औं वार्षिक साधारणसभाको शुक्रबार पोखरामा उद्घाटन गर्दै उनले कामचलाउ सरकारले गरेका कतिपय निर्णय अनैतिक र जनमतको उपहास भएको बताए ।

भावी प्रधानमन्त्रीकारुपमासमेत हेरिएका अध्यक्ष ओलीले संविधान, कानुन र राष्ट्रहितविपरीतका निर्णयहरुलाई आगामी सरकारले खारेज गर्नेसमेत उल्लेख गरे ।

उनले नयाँ कर्मचारी भर्ना गर्नुपर्ने बेलामा ६० अर्ब रुपैयाँ खर्च गरेर भएका अनुभवी कर्मचारीलाई स्वेच्छिक अवकाश दिन खोजिएको भन्दै विरोध जनाए ।

ओलीले आफू ‘गाई कि त्रिशूल’ गरेर राजनीतिमा नलागेको भन्दै देशको विकास गर्न आएको बताए ।

उनले संविधान संशोधन भयो भने आफ्ना मुद्दाहरु सकिने डरले मधेसवादी दल त्यसबाट पन्छिन खोजेको आरोप पनि लगाए ।

कार्यक्रममा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले नैतिकताका आधारमा देउवा सरकारले राजीनामा दिनुपर्ने जिकिर गरे ।

कार्यक्रममा देशभरका ३०० भन्दा बढी सामुदायिक रेडियोका प्रतिनिधिको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्