भारतले अदुवा निकासी फेरि रोक्यो, किसान र व्यवसायी मर्कामा

काठमाडौं । मुख्य नगदेबाली अदुवा निकासीमा भारतले रोक लगाएपछि पूर्वी नेपालका किसान तथा व्यवसायीहरु प्रत्यक्ष मर्कामा परेका छन् ।

भारतीय पक्षले माथिको आदेश भन्दै विगत १७ दिनदेखि रोक लगाएपछि अदुवा निकासी हुन सकेको छैन । अघिल्ला वर्षमा पनि भारतले यसैगरी बेला बेला अदुवाको निकासीमा रोक लगाउँदै आउने गरेको छ ।

नेपाली अदुवामा माटो टाँसिएको, गुणस्तर राम्रो नभएको र चाइनिज अदुवा मिसिएको भेटिएको भन्दै निकासीमा रोक लगाइएको भारत पक्षको भनाइ छ । १७ दिनदेखि अदुवा जान सकेको छैन ।

अदुवा निकासी हुन नसक्दा अदुवा लोड भएर भन्सार हुने क्रमका करिब साठ्ठीवटा ट्रक काँकडभिट्टा नाकाबाट पुनः फर्काएर सबै व्यवसायीले आ–आफ्नो गोदाममा अनलोड गरी थन्क्याउन बाध्य भएका छन् ।

अदुवा निकासीका विषयमा बारम्बर समस्या आउने गरेको तर त्यसलाई स्थानीय स्तरबाटै समाधान गरिँदै आएको इलामका अदुवा व्यवसायीहरु बताउँछन् ।

अदुवा निकासी नभएका कारण अदुवाले राम्रो मुल्य नपाउँदा इलामका १२ हजार ९ सय ३२ परिवार प्रत्यक्ष प्रभावित भएको जिल्ला कृषि विकास कार्यालय इलामले जनाएको छ ।

पाँचथर, इलाम लगायतका पूर्वी जिल्लाबाट अधिकांश अदुवा झापाको काँकडभिट्टा नाका हँुदै भारत निकासी हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्