मिटरब्याज पीडितको वार्ता टोली काठमाडौं आउँदै, सरकारसँग छलफल हुने

काठमाडौं, ३२ असार । मिटरब्याज पीडितहरूको वार्ता टोली सरकारसँग छलफलका लागि बिहीबार साँझ सिमराबाट हवाईमार्ग हुँदै काठमाडौं आउँदै छ।

गृहमन्त्रीको सचिवालयका अनुसार गृहमन्त्रीले पीडित पक्षका वार्ता टोलीका सदस्यहरूलाई सिमराबाट काठमाडौंका लागि विमानमार्फत पठाउने व्यवस्था मिलाएका हुन्।

पीडित पक्षले अवधेश कुश्वाहाको संयोजकत्वमा गठन गरेको वार्ता टोलीमा मनोजकुमार पासमान, रिजन राना मगर, लक्ष्मी घिमिरे र किरण परियार सदस्य रहेका छन्।

यसअघि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अनुचित लेनदेन (मिटरब्याज) बाट प्रभावित नागरिकका माग सम्बोधनका लागि सरकारी वार्ता टोली गठन गर्ने निर्णय गरेको थियो।

सरकारी वार्ता टोलीको संयोजकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव पुष्कर सापकोटा रहेका छन्। टोलीमा अर्थ मन्त्रालय, गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सदस्यका रूपमा रहेका छन्।

सरकार र पीडित पक्षबीच काठमाडौंमा वार्ता गरी मिटरब्याज पीडितका मागबारे छलफल हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्