भारतीय शहरमा नेपाली मजदूरको बिचल्ली, सडकपेटीमै बिताउँछन् दिनरात
काठमाडौं, चैत २८ । कोरोना भाइरसको सङक्रमण नियन्त्रणका लागि गरिएको लक डाउनका कारण भारतको मुम्बैस्थित अँधेरी भन्ने ठाउँमा अलपत्र परेका नेपाली युवक । उनीहरुले स्वदेश फर्किने वातावरण मिलाइदिन अपिल गरेका छन् । तस्वीर सौजन्य– राजेन्द्र चन्दरमुम्बै भारत
भीमदत्तनगर– विगत ६ वर्षदेखि महाराष्ट्रको मुम्बैस्थित दादरको एक होटलमा चाइनिज कुकमा कार्यरत कञ्चनपुरको दोधारा चादँनीका सुरजसिंह कार्कीको दैनिकी विगत एक महिनायता फेरिएको छ ।
निरन्तरको बसाइले त्यहाँ धेरै घुलमिल उनी यतिबेला कोरोना भाइरसको जोखिम हुन नदिन भारतले लगाएको लकडाउनपछि विचल्लीमा परेका नेपालीलाई सम्पर्कमा ल्याउन व्यस्त छन् । ‘घरबाट बुवारआमाको रातो टीका र धन कमाउने आर्शीवाद लिएर विदा सकेर चार महिनाअघि मात्रै काममा फर्के ।’ मुम्बैबाट टेलिफोनमा कुराकानी गर्दै उनले निराश हुँदै भने, ‘अब त धन कमाएर घर पठाउनेभन्दा पनि बाँच्न नै मुश्किल पर्यो ।’
उनीसँग उक्त होटलमा कार्यरत दोधारा चादँनीका चार युवक लकडाउनदेखि आश्रय लिइरहेका छन् । उनले कञ्चनपुर, कैलाली र बैतडीलगायत जिल्लाका दैनिक ज्यालादारीमा काम गर्ने मजदूर लकडाउनका कारण सडक पेटीमा रात बिताइरहेको जानकारी दिए ।
‘धेरैलाई त घरबेटी नै निकाल्दैछन् ,’ उनले भने, ‘जहान परिवार र लालाबाला लिएर यो विपतको घडीमा कहाँ जाउन ।’ उनले आफूहरु सकुशल घर फर्किने पाए भन्ने ठूलो आशमा बसेको बताए । ‘सुदूरपश्चिमका मात्रै यहाँ अलपत्र परेका ३०० जति सम्पर्कमा छन् ,’ उनले भने, ‘सबैको एक स्वर छ, हामीलाई सरकारले स्वदेश फर्काउने वातावरण बनाइदेओस ।’
कार्कीले दैनिक जसो मुम्बै र आसपासका क्षेत्रमा नेपाली मजदूरहरुले व्यहोरी रहेको समस्या सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन् । ‘यहाँ रहेकाको बेदना कसैले सुन्छन् की भनेर सामाजिक सञ्जालको सहारा लिइरहेका छौं ,’ उनले भने, ‘हामीलाई उद्धारका लागि पहल गर्न आग्रह गर्छौं ।’
उनले सीमा क्षेत्रको अवस्था केही समयका लागि सामान्य बनाएर नेपालीलाई स्वदेशकै क्वारेन्टाइनमा पुर्याउन माग गरे । ‘कोरोनाको जोखिमप्रति हामी पनि चिन्तित छौं ,’ उनले भने, ‘नेपालबाट हामीलाई लिन बस पठाइ दिए हामी आफै बस भाडा तिर्थ्यौं भन्नेमा छौं ।’
बैतडीका जगदीश भण्डारीले ६० जना मजदूर मुम्बैमा अलपत्र परेको जानकारी दिए । ‘होटलको स्टाफ रुपमा कोचिएर रात दिन काट्नुपर्ने अवस्था छ ,’ उनले भने, ‘अरु बिरामी पर्दा औषधि लिन सुरक्षाकर्मीले जान दिएको अवस्था छैन ।’
त्यसैगरी मुम्बैको अन्धेरीमा होटलमा काम गर्दै आइरहेका कञ्चनपुरको दोधारा चादँनीका राजेन्द्र चन्दले लकडाउनका कारण होटल साहुले घर जान दबाब दिइरहेको बताए । ‘खान, बस्न त अहिलेसम्म ठिकै थियो,’ चन्दले भने, ‘हिजो साहुले लकडाउन लम्बिन्छ घर जाउँ भन्यो ।’
उनले आफू पारिवारिक पस्थितिले तीन महिनाघि मुम्बै आएको बताउँदै उद्धारका लागि सरकारले ध्यान दिनुपर्ने बताए । ‘भारतीय सरकारसित यहाँ रहेका अलपत्र नेपालीको खानपिन र बसोबासका लागि समन्वय गरिदिए पनि हुन्थ्यो,’ उनले दुखेसो पोख्दै भने, ‘नेपाली बिरामी परेपनि अस्पताल पुर्याइदिने छाँट छैन ।’
त्यसैगरी कञ्चनपुरको बेल्डाँडी–३ का जनकराज भट्ट पनि मुम्बैमा समस्यामा परेका छन् । ‘अहिलेसम्म त ठिकै थियो, खान बस्न दिएकै थियो ।’ भट्टले भने, ‘अब लकडाउन लम्बिन्छ, घर जाउँ भन्दै छैन ।’ उनले दिल्लीमा रहेको दूतावासको टेलिफोन नै रिसिभ नहुने गरेको दुखेसो पोखे । ‘दूतावासको फोन नै उठदैन,’ उनले भने, ‘उठाइहाले पनि कोही बोल्दैनन् ।’
यसअघि पनि भारतमा समस्यामा रहेका धेरै नेपालीले दूतावासप्रति गुनासो पोखेका थिए । सुदूरपश्चिमसँगै कर्णाली प्रदेशका नागरिक रोजगारीका लागि नयाँ दिल्ली, मुम्बै, पुना, बैंग्लोर, पञ्जाव, हरिद्धार, लोहाघाट, पिथौरागढ लगायतका क्षेत्रमा जाने गर्छन् ।
सुदूरपश्चिमको रोजगारीको प्रमुख गन्तव्य भारतबाट कोरोना भाइरसको सङ्क्रमणको त्रासदी र लकडाउनपछि गरेर एक लाख ४३ हजार नागरिक यहाँका नाकाबाट घर फर्किएको सुदूरपश्चिम प्रदेश सरकारको भनाइ छ ।
भारतबाट घर फर्किएकामध्ये कञ्चनपुरको बेदकोट नगरपालिकाका र कैलालीको लम्की चुहा नगरपालिकाकाका एकरएक जनामा कोरोनाका सङ्क्रमण देखिएको छ । दुवै जनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । दार्चुलाको सीमावर्ती भारतीय बजार धारचुलादेखि कञ्चनपुरको टनकपुर हुँदै बनवासासम्म गरी करिब एक हजार १०० भन्दा बढी नेपाली त्यहाँ क्वारेन्टाइनमा बसिरहेका छन् ।– शेरबहादुर सिंहररासस
प्रतिक्रिया दिनुहोस्