लघुवित्तमा साइकोमेट्रिक क्रेडिट स्कोरिङ प्रणालीको अपरिहार्यता

प्रमोदकुमार घिमिरे: लघुवित्तमा साइकोमेट्रिक क्रेडिट स्कोरिङ प्रणाली भनेको ऋणीको मनोवैज्ञानिक विशेषता, व्यवहार, आचरण, व्यक्तित्व, इमानदारी, वित्तीय अनुशासन, निर्णय क्षमता, जिम्मेवारीबोध तथा उद्यमशील सोचको वैज्ञानिक परीक्षण गरी उसको सम्भावित कर्जा भुक्तानी व्यवहार र जोखिम मूल्याङ्कन गर्ने आधुनिक विधि हो । यस प्रणालीले ऋणीको आम्दानी, सम्पत्ति, धितो तथा विगतको कर्जा इतिहासजस्ता परम्परागत वित्तीय सूचनासँगै उसको व्यवहारगत पक्षलाई समेत विश्लेषण गर्दछ ।
यस प्रणालीअन्तर्गत संरचित प्रश्नावली तथा मनोवैज्ञानिक परीक्षणका माध्यमबाट ऋणीको आर्थिक निर्णय गर्ने क्षमता, आम्दानी र खर्च व्यवस्थापन, जोखिम सामना गर्ने प्रवृत्ति, प्रतिबद्धता तथा आर्थिक दायित्वप्रतिको जिम्मेवारी मूल्याङ्कन गरिन्छ । प्राप्त उत्तरलाई पूर्वनिर्धारित अंकभारका आधारमा विश्लेषण गरी समग्र क्रेडिट स्कोर तयार गरिन्छ । यसले ऋणीको कर्जा तिर्न सक्ने क्षमता मात्र नभई कर्जा तिर्ने इच्छाशक्ति तथा तत्परता पहिचान गर्नसमेत सहयोग पु¥याउँछ ।
“लघुवित्त बित्तीय संस्थाहरुले ग्राहकको साइकोमेट्रिक क्रेडिट स्कोरिङ प्रणाली समेतका आधारमा कर्जा बिश्लेषण गरी कर्जा प्रवाह गर्न सक्नेछन् ।”
विशेषगरी धितो, औपचारिक आम्दानी वा कर्जा इतिहास नभएका न्यून आय भएका व्यक्ति तथा साना उद्यमीको कर्जा मूल्याङ्कनमा यो प्रणाली उपयोगी हुन सक्छ । त्यसैले प्रणाली परम्परागत कर्जा विश्लेषणको विकल्प नभई कर्जा निर्णयलाई थप वस्तुनिष्ठ, वैज्ञानिक, पारदर्शी र जोखिमसंवेदनशील बनाउने पूरक उपकरण हो ।
नेपालको लघुवित्त क्षेत्रमा खराब कर्जा नियन्त्रण, असल ऋणीको पहिचान र कर्जा जोखिम व्यवस्थापनलाई वैज्ञानिक बनाउन व्यवहारमा आधारित कर्जा मूल्याङ्कन प्रणालीको आवश्यकता महसुस भएको सन्दर्भमा नेपाल राष्ट्र बैंकबाट मिति २०८३ भाद्र ११ मा “लघुवित्त बित्तीय संस्थाहरुले ग्राहकको साइकोमेट्रिक क्रेडिट स्कोरिङ प्रणाली समेतका आधारमा कर्जा बिश्लेषण गरी कर्जा प्रवाह गर्न सक्नेछन् ।” भन्ने एकिकृत निर्देशन समेत जारी गरी नीतिगत व्यवस्था गरेको छ । अब यसलाई व्यवहारमा उतार्ने कार्ययोजना आवश्यक छ ।
कर्जा प्रवाह होइन, सही ऋणीको पहिचान महत्वपूर्ण
नेपालको लघुवित्त क्षेत्रले वित्तीय पहुँच विस्तार, महिला सशक्तीकरण, ग्रामीण उद्यमशीलता विकास र विपन्न समुदायको आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । बैंकिङ सेवाबाट वञ्चित न्यून आय भएका परिवारलाई सानो पुँजी उपलब्ध गराएर स्वरोजगार तथा आयआर्जनका अवसर सिर्जना गर्नु यस क्षेत्रको प्रमुख उपलब्धि हो । तथापि, पछिल्लो समय लघुवित्त संस्थाहरूले बढ्दो खराब कर्जा, कर्जा असुलीमा कठिनाइ, बहुकर्जा, ऋणीको अत्यधिक ऋणभार, कमजोर कर्जा अनुशासन र संस्थागत वित्तीय स्थायित्वसम्बन्धी चुनौती सामना गरिरहेका छन् ।
यी समस्याको एउटा महत्वपूर्ण कारण कर्जा मूल्याङ्कन प्रक्रियामा देखिएको कमजोरी पनि हो । परम्परागत रूपमा ऋणीको आम्दानी, सम्पत्ति, व्यवसाय, पारिवारिक अवस्था, समूह जमानी र कर्जा तिर्न सक्ने क्षमताका आधारमा कर्जा निर्णय हुँदै आएको छ । तर, समान आर्थिक अवस्था भएका दुई व्यक्तिमध्ये एकजना नियमित र जिम्मेवार ऋणी हुन सक्छ भने अर्को आर्थिक क्षमता हुँदाहुँदै पनि कर्जा भुक्तानीमा अनुशासनहीन हुन सक्छ । त्यसैले कर्जा तिर्न सक्ने क्षमता मात्र होइन, कर्जा तिर्ने इच्छाशक्ति र जिम्मेवारीबोध समेत मूल्याङ्कन गर्नुपर्ने आवश्यकता देखिएको छ । यही आवश्यकतालाई सम्बोधन गर्ने यो आधुनिक विधि हो ।
साइकोमेट्रिक क्रेडिट स्कोरिङ: ऋणीको व्यवहार र जिम्मेवारीको वैज्ञानिक परीक्षण
साइकोमेट्रिक क्रेडिट स्कोरिङ प्रणालीले ऋणीको मनोवैज्ञानिक विशेषता, व्यवहार, इमानदारी, वित्तीय अनुशासन, निर्णय क्षमता, जिम्मेवारीबोध, उद्यमशील सोच र जोखिम व्यवस्थापन गर्ने क्षमताको संरचित परीक्षण गरी उसको सम्भावित कर्जा भुक्तानी व्यवहारको मूल्याङ्कन गर्दछ । यस प्रणालीले ऋणीको आर्थिक अवस्थासँगै उसको व्यवहारगत पक्षको समेत विश्लेषण गर्छ । उदाहरणका लागि, व्यवसायमा घाटा हुँदा उसले कस्तो निर्णय लिन्छ, आम्दानी र खर्चबीच कसरी सन्तुलन कायम गर्छ, आकस्मिक आर्थिक समस्या पर्दा कसरी व्यवस्थापन गर्छ, ऋण लिँदा आफ्नो दायित्वलाई कत्तिको गम्भीरतापूर्वक लिन्छ र भविष्यका आर्थिक योजनाप्रति कत्तिको जिम्मेवार छ भन्ने विषय परीक्षण गरिन्छ ।
यसका लागि मनोवैज्ञानिक परीक्षणमा आधारित प्रश्नावली तयार गरिन्छ । ऋणीले दिएका उत्तरलाई पूर्वनिर्धारित मापदण्डअनुसार अंक प्रदान गरी समग्र स्कोर तयार गरिन्छ । यसरी प्राप्त स्कोरले ऋणीको व्यवहारगत जोखिम पहिचान गर्न सहयोग पु¥याउँछ । यो परम्परागत कर्जा विश्लेषणको विकल्प नभई त्यसलाई थप वस्तुनिष्ठ, वैज्ञानिक र प्रभावकारी बनाउने पूरक उपकरण हो ।
अन्तर्राष्ट्रिय अभ्यास र नेपालको नीतिगत सुरुवात:
साइकोमेट्रिक स्कोरिङको प्रयोग विशेषगरी औपचारिक कर्जा इतिहास नभएका, धितो राख्न नसक्ने तथा साना व्यवसाय सञ्चालन गर्ने व्यक्तिको कर्जा मूल्याङ्कनमा उपयोगी मानिएको छ । नेपाल राष्ट्र बैंक र अन्तर्राष्ट्रिय वित्त निगम बीच सन् २०२२ मा नेपालको वित्तीय क्षेत्रमा साइकोमेट्रिक स्कोरिङ समाधान परीक्षण गर्ने पहल भएको थियो । यसको उद्देश्य परम्परागत वित्तीय विवरण उपलब्ध नभएका सम्भावित ऋणीको व्यवहार तथा मनोवैज्ञानिक विशेषताका आधारमा कर्जा जोखिम पहिचान गर्नु थियो ।
विश्व बैंकको सन् २०१७ मा प्रकाशित अनुसन्धानले पेरुका साना व्यवसायीको कर्जा मूल्याङ्कनमा साइकोमेट्रिक परीक्षणको उपयोगिता अध्ययन गरेको थियो । त्यसैगरी,आइएफसीको सन् २०२५ को नेपालको डिजिटल वित्तीय सेवासम्बन्धी प्रतिवेदनले पनि नेपालमा यस प्रकारको स्कोरिङ समाधानको परीक्षणलाई उल्लेख गरेको छ । यी अभ्यासले परम्परागत कर्जा सूचनाको अभावमा पनि सम्भावित ऋणीको जोखिम मूल्याङ्कन गर्न थप सूचना प्राप्त गर्न सकिने देखाउँछन् ।
नेपालको लघुवित्त क्षेत्रमा यसको व्यावहारिक आवश्यकता:
नेपालका लघुवित्त संस्थामा बहुकर्जा, दोहोरो कर्जा, कमजोर भुक्तानी अनुशासन र ऋणीको वास्तविक ऋणभार पहिचान गर्न कठिनाइ देखिएको छ । कतिपय अवस्थामा ऋणीको आर्थिक क्षमता हुँदाहुँदै पनि नियतवश कर्जा भुक्तानी नगर्ने प्रवृत्ति देखिन्छ भने कतिपय ऋणी वास्तविक आर्थिक संकटका कारण समस्यामा परेका हुन्छन् । यी दुई अवस्थाबीच भिन्नता पहिचान गर्न व्यवहारगत मूल्याङ्कन सहयोगी हुन सक्छ । त्यस्तै, पहिलोपटक कर्जा लिन चाहने तर औपचारिक कर्जा इतिहास नभएका व्यक्तिको मूल्याङ्कनमा पनि यो प्रणाली उपयोगी हुन्छ । कर्जा अधिकृतको व्यक्तिगत धारणा, अनुमान वा बाह्य प्रभावका आधारमा हुने निर्णयलाई घटाएर तथ्यमा आधारित निर्णय गर्नसमेत यसले सहयोग पु¥याउँछ । यसबाट सही ऋणीको छनोट, कर्जा सदुपयोग, असुली सम्भावनाको मूल्याङ्कन र खराब कर्जा न्यूनीकरणमा सकारात्मक योगदान पुग्छ ।
नेपालमा लागू गर्न आवश्यक प्रश्नावली तथा स्कोरिङ प्रणाली:
नेपालका लघुवित्त संस्थाका लागि स्थानीय सामाजिक, आर्थिक, भाषिक तथा सांस्कृतिक परिवेशअनुकूल साझा प्रश्नावली विकास गर्नुपर्छ । यसमा ऋणीको इमानदारी तथा नैतिकता, वित्तीय अनुशासन, व्यवसाय सञ्चालन क्षमता, निर्णय क्षमता, जोखिम व्यवस्थापन, आचरण, जिम्मेवारीबोध, समस्या समाधान र आत्मनियन्त्रणजस्ता विषय समेटिनुपर्छ । उदाहरणका लागि, व्यवसायमा आम्दानी घट्दा खर्च कसरी व्यवस्थापन गर्नुहुन्छ, आकस्मिक आम्दानी प्राप्त हुँदा त्यसको उपयोग कसरी गर्नुहुन्छ, ऋणको किस्ता तिर्न कठिनाइ भएमा के गर्नुहुन्छ र व्यवसायमा घाटा हुँदा कस्तो विकल्प रोज्नुहुन्छ भन्ने जस्ता प्रश्न समावेश गर्न सकिन्छ ।
प्रारम्भिक रूपमा २० देखि ३० वटा प्रश्न समावेश गरी प्रत्येक प्रश्नको उत्तरलाई १ देखि ५ अंकसम्म मूल्याङ्कन गर्न सकिन्छ । सकारात्मक तथा नकारात्मक प्रश्नका लागि आवश्यकताअनुसार उल्टो स्कोरिङ अपनाउनुपर्छ । प्रश्नको महत्वअनुसार फरक अंकभार निर्धारण गर्न सकिन्छ । समग्र प्राप्तांकका आधारमा न्यून, मध्यम र उच्च जोखिम समूहमा वर्गीकरण गर्न सकिन्छ । तर, जोखिमको सीमा वैज्ञानिक परीक्षण र वास्तविक कर्जा भुक्तानी तथ्याङ्कका आधारमा निर्धारण गर्नुपर्छ । प्रश्नावली सरल, स्पष्ट र ऋणीले सहजै बुझ्न सक्ने हुनुपर्छ । उत्तर अनुमान गरेर वा कर्मचारीको व्यक्तिगत धारणाका आधारमा अंक प्रदान गर्ने अवस्थालाई नियन्त्रण गर्नुपर्छ ।
डिजिटल प्रविधि र संस्थागत प्रणालीसँग एकीकरण:
यस प्रणालीलाई प्रभावकारी बनाउन मोबाइल एप, ट्याब्लेट वा वेबमा आधारित डिजिटल स्कोरिङ प्रणाली वा भौतिक कागजातहरु विकास गर्न आवश्यक छ । कर्जा अधिकृतले ऋणीसँग प्रत्यक्ष संवाद गरी प्रश्नावली भर्न सक्ने र प्रणालीले स्वतः अंक गणना गरेर जोखिम प्रोफाइल तयार गर्ने व्यवस्था हुनुपर्छ । प्राप्त स्कोरलाई संस्थाको व्यवस्थापन सूचना प्रणाली, कर्जा व्यवस्थापन प्रणाली, ऋणीको विगतको भुक्तानी विवरण, कर्जा सूचना केन्द्रको अभिलेख, आम्दानी तथा खर्च विश्लेषण र विद्यमान कर्जा मूल्याङ्कन प्रक्रियासँग एकीकृत गर्नुपर्छ । यसबाट कर्जा स्वीकृत गर्ने अधिकारीले एउटै प्रणालीमा ऋणीको आर्थिक क्षमता, विगतको भुक्तानी व्यवहार र मनोवैज्ञानिक विशेषतासम्बन्धी सूचना प्राप्त गर्न सक्छन् । साथै, प्रत्येक स्कोरिङको अभिलेख, परीक्षणको मिति र मूल्याङ्कन गर्ने कर्मचारीको विवरण सुरक्षित राख्ने व्यवस्था हुनुपर्छ ।
कार्यान्वयनका चुनौती र जोखिम नियन्त्रण:
साइकोमेट्रिक स्कोरिङको प्रभावकारिता प्रश्नावलीको वैज्ञानिक गुणस्तर, कर्मचारीको दक्षता र तथ्याङ्कको विश्वसनीयतामा निर्भर हुन्छ । त्यसैले मनोविज्ञानविद्, लघुवित्त विज्ञ, तथ्याङ्कविद्, सूचना प्रविधि विशेषज्ञ तथा जोखिम व्यवस्थापन विज्ञ सम्मिलित प्राविधिक टोली गठन गर्नुपर्छ । ऋणीको जात, लिङ्ग, धर्म, उमेर, शिक्षा वा भौगोलिक अवस्थाका आधारमा विभेद हुने प्रश्न तथा मापदण्ड राख्नु हुँदैन । व्यक्तिगत विवरणको गोपनीयता र तथ्याङ्क सुरक्षालाई प्राथमिकता दिनुपर्छ । कुनै ऋणीको स्कोर कम आएको आधारमा मात्र कर्जा अस्वीकार गर्ने प्रणाली विकास गर्नु उचित हुँदैन । उसको वास्तविक आम्दानी, व्यवसायको सम्भाव्यता, ऋणभार र विगतको भुक्तानी व्यवहारसमेत विश्लेषण गर्नुपर्छ । साथै, स्कोरले भविष्यको कर्जा भुक्तानी व्यवहार कत्तिको सही अनुमान गर्छ भन्ने विषयमा नियमित प्रमाणीकरण गर्नुपर्छ ।
प्रविधिसँगै व्यवहार बुझ्ने कर्जा प्रणालीको विकास:
नेपालको लघुवित्त क्षेत्र अहिले कर्जा विस्तारभन्दा कर्जाको गुणस्तर, वित्तीय अनुशासन र संस्थागत स्थायित्वलाई प्राथमिकता दिनुपर्ने अवस्थामा पुगेको छ । साइकोमेट्रिक क्रेडिट स्कोरिङले ऋणीको आर्थिक क्षमतासँगै उसको व्यवहार, इमानदारी, आचरण, जिम्मेवारीबोध र वित्तीय अनुशासनको थप जानकारी उपलब्ध गराउन सक्छ । यसलाई कर्जा सूचना, नगद प्रवाह विश्लेषण, ऋणीको ऋणभार, व्यवसायको सम्भाव्यता र विगतको भुक्तानी व्यवहारसँग एकीकृत गर्न सकेमा कर्जा निर्णय अझ प्रभावकारी बन्न सक्छ ।
अन्ततः लघुवित्तको सफलता कति कर्जा वितरण गरियो भन्ने आधारमा मात्र मापन हुनु हुँदैन । कति सही ऋणीलाई कर्जा दिइयो, कति उद्यम सफल भए, कति परिवारको आर्थिक अवस्था सुधार भयो र संस्थाको वित्तीय स्थायित्व कति सुरक्षित रह्यो भन्ने आधारमा मूल्याङ्कन हुनुपर्छ । कर्जा दिनुअघि ऋणीको आर्थिक क्षमता मात्र होइन, उसको व्यवहार र जिम्मेवारीबोधसमेत बुझ्ने प्रणाली विकास गर्न सकेमा साइकोमेट्रिक क्रेडिट स्कोरिङ नेपालको लघुवित्त क्षेत्रलाई सुरक्षित, उत्तरदायी र दिगो बनाउने महत्वपूर्ण औजार बन्न सक्छ ।
(लेखक घिमिरे साइकोमेट्रिक क्रेडिट स्कोरिङ प्रणाली सम्बन्धी बिज्ञ हुन् )






















प्रतिक्रिया दिनुहोस्