नेपालमा लघुवित्तको मोडेल परिवर्तनको वहस किन उठिरहन्छ ?

प्रमोदकुमार घिमिरे : नेपालको ग्रामीण अर्थतन्त्र र वित्तीय समावेशीकरणको इतिहासमा लघुवित्त क्षेत्रले विगत तीन दशकभन्दा बढी समयदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । औपचारिक बैंकिङ प्रणालीको पहुँच नपुगेका विपन्न, सीमान्तकृत तथा न्यून आय भएका परिवार, विशेषगरी ग्रामीण महिलाहरूलाई सानो पुँजी उपलब्ध गराई स्वरोजगार र उद्यमशीलतातर्फ डो¥याउने उद्देश्यले सुरु भएको यो प्रणालीले एक समय गरिबी निवारणको प्रभावकारी औजारका रूपमा अन्तर्राष्ट्रिय पहिचान समेत बनाएको थियो । तर पछिल्ला वर्षहरूमा लघुवित्त क्षेत्रभित्र देखिएको संरचनात्मक कमजोरी, बढ्दो खराब कर्जा, ऋणीहरूको चर्को असन्तुष्टि र नियामकीय हस्तक्षेपले यसको परम्परागत कार्यशैलीमाथि गम्भीर प्रश्न खडा गरिदिएको छ ।
‘नियामक निकाय, सञ्चालक, कर्मचारी, स्थानीय तह, विकास साझेदार र सदस्यबीचको सहकार्य तथा साझा प्रतिबद्धताबाट मात्र लघुवित्त क्षेत्र वर्तमान चुनौतीबाट माथि उठ्न सक्छ ।’
नेपाल राष्ट्र बैंकको पछिल्लो सुपरिवेक्षण प्रतिवेदनअनुसार आ.व. २०८२/८३ को अन्त्यसम्म खुद्रा कारोबार गर्ने लघुवित्त संस्थाहरूको निष्क्रिय कर्जा (एनपीएल) अनुपात अघिल्लो वर्षको ७ प्रतिशतबाट उक्लेर १०.४२ प्रतिशत पुगेको छ भने खराब कर्जाको आकार करिब ६४ प्रतिशतले वृद्धि भई ५० अर्ब ८२ करोड रुपैयाँ नाघेको छ । अर्कोतर्फ, करिब ६५ लाखभन्दा बढी सदस्य र २७ लाखभन्दा बढी सक्रिय ऋणी जोडिएको यो क्षेत्रमा खराब कर्जा र कर्जा नोक्सानी व्यवस्था चुलिँदा पनि समग्र नाफामा देखिएको उतारचढाव तथा कर्जा असुलीमा आएको शिथिलताले अब “नेपालमा लघुवित्तको मोडेल परिवर्तनको बहस“ केवल प्राज्ञिक गोष्ठीमा सीमित नरही नीतिगत र व्यावहारिक अपरिहार्यता बनेको छ ।
परम्परागत मोडेलका सीमा र संकटका जरा
नेपालको लघुवित्तले मुख्यतः समूह जमानीमा आधारित घरदैलो सेवा र साप्ताहिक÷पाक्षिक÷मासिक किस्ता असुलीको ढाँचालाई आफ्नो पहिचान बनायो । सुरुवाती चरणमा सीमित संस्था र स्पष्ट लक्षित वर्ग हुँदा यो प्रणाली प्रभावकारी देखिएको थियो । तर समयक्रमसँगै नाफामुखी व्यावसायिक प्रतिस्पर्धा, शाखा सञ्जालको अस्वस्थ विस्तार र एउटै ऋणीलाई बहुलघुवित्त तथा वाणिज्य बैंकबाट समेत कर्जा प्रवाह गर्ने प्रवृत्तिले प्रणालीको जगलाई कमजोर बनायो । राष्ट्र बैंककै विभिन्न अध्ययन समिति र कार्यदलका प्रतिवेदनहरूले सदस्य संख्या बढाउने अस्वस्थ होडबाजी, ऋणको उत्पादकत्व मूल्यांकन नगरी अन्धाधुन्ध कर्जा प्रवाह गर्ने बानी र ऋणीको वास्तविक तिर्न सक्ने क्षमताभन्दा बढी ऋण बोकाउने प्रवृत्तिलाई संकटका प्रमुख कारक औँल्याएका छन् ।
जब ऋणीले लिएको कर्जा उत्पादनशील काममा भन्दा घरायसी उपभोग, पुराना ऋण तिर्न वा अनुत्पादक क्षेत्रमा खर्च हुन थाल्यो, तब कर्जा चक्र बिग्रन थाल्यो । कोभिड–१९ पछिको आर्थिक सुस्तता, बजार मागमा आएको संकुचन, कृषि तथा साना व्यवसायमा देखिएको जोखिम र बढ्दो ऋणको भारले गाउँघरमा ऋण मिनाहा र असुली विरोधी आन्दोलनहरू चर्किए । यसले एकातिर इमानदार ऋणीहरूलाई समेत भ्रमित र निरुत्साहित बनायो भने अर्कोतिर कर्जा सूचना केन्द्रमा कालोसूचीमा पर्ने ऋणीहरूको संख्या ३० हजारभन्दा माथि पुग्दा सामाजिक र आर्थिक तनाव थप गहिरियो । कतिपय संस्थाहरू पुँजीकोषको दबाबमा परी नेपाल राष्ट्र बैंकको शीघ्र सुधारात्मक कारबाहीमा समेत परे, जसले परम्परागत मोडेल अब आफ्नै भार थेग्न नसक्ने अवस्थामा पुगेको संकेत गर्छ ।
सदस्यको संख्या होइन, गुणस्तर र उद्यमशीलताको केन्द्रबिन्दु
अहिलेको बहसको पहिलो र मूल मुद्दा लघुवित्तको उद्देश्यलाई “ऋण वितरण र सदस्य संख्याको आकार“ बाट “दिगो उद्यमशीलता र आयआर्जनको गुणस्तर“ तर्फ मोड्नु हो । विगतमा कतिवटा समूह बने, कति सदस्य थपिए र कति कर्जा प्रवाह भयो भन्ने तथ्यांकलाई मात्र सफलताको मानक मानियो । तर अब कर्जाको रकमले सदस्यको जीवनस्तरमा के कति वास्तविक परिवर्तन ल्यायो, रोजगारी सिर्जना भयो कि भएन र व्यवसायको नगद प्रवाह कस्तो छ भन्ने कुरालाई मुख्य आधार बनाइनुपर्छ ।
लघुवित्तको कुल कर्जाको ठूलो हिस्सा कृषि क्षेत्रमा जाने गरेको तथ्यांक देखिए पनि व्यवहारमा धेरै कर्जा परम्परागत निर्वाहमुखी खेती वा उपभोगमै सीमित रहँदा जोखिम बढेको छ । कृषि, पशुपालन, घरेलु तथा साना उद्योग र सेवा क्षेत्रमा कर्जा दिँदा त्यसलाई मूल्य शृंखला, बजार पहुँच, प्राविधिक तालिम र बीमासँग जोड्न सकिए मात्र ऋण उत्पादक बन्छ । कर्जा दिँदा “ऋणीलाई कति दिन सकिन्छ“ भन्ने होइन, “ऋणीको व्यवसायले कति धान्न सक्छ“ भन्ने यथार्थपरक मूल्यांकन अनिवार्य हुनुपर्छ ।
ब्याजदर पारदर्शिता, लागत व्यवस्थापन र वित्तीय अनुशासन
लघुवित्त मोडेल परिवर्तनको अर्को संवेदनशील पाटो कर्जाको लागत र ब्याजदरसँग जोडिएको छ । ऋणीहरूले चर्को ब्याजदर र विभिन्न शुल्कका कारण ऋणको पासोमा परेको गुनासो बारम्बार गर्दै आएका छन् । नियामकीय व्यवस्थाअनुसार ब्याजदरमा सीमा तोकिए पनि व्यवहारमा सेवा शुल्क, बचत संकलन र असुली प्रक्रियाका जटिलताले ऋणीलाई महँगो महसुस गराउने अवस्था रहँदै आएको छ ।
अर्कोतर्फ, लघुवित्त संस्थाहरूको कोषको लागत, सञ्चालन खर्च र कर्जा नोक्सानी व्यवस्थामा भइरहेको वृद्धिले संस्थागत दिगोपनमाथि चाप पारेको छ । यदि संस्थाहरूले आफ्नो प्रशासनिक खर्च घटाउन सकेनन्, डिजिटल प्रविधिमार्फत सेवा प्रवाहलाई किफायती बनाउन सकेनन् र खराब कर्जा नियन्त्रण गर्न सकेनन् भने नाफा र स्थायित्वबीचको सन्तुलन बिग्रिरहन्छ । वित्तीय अनुशासन कायम राख्न पारदर्शी हिसाबकिताब, स्पष्ट ब्याज गणना, बचत सुरक्षण र ऋणको दुरुपयोग रोक्ने कडा आन्तरिक नियन्त्रण प्रणाली अपरिहार्य छ ।
डिजिटल रूपान्तरण र परम्परागत बैठकको पुनर्संरचना
नेपालको लघुवित्त लामो समयसम्म भौतिक रूपमा केन्द्रमा भेला हुने, कागजी अभिलेख राख्ने र नगद कारोबारमै निर्भर रहने ढाँचामा चल्यो । यसले कर्मचारीको कार्यभार बढाउने मात्र होइन, सञ्चालन लागत महँगो बनाउने र मानवीय त्रुटि वा अनियमितताको जोखिम समेत निम्त्याउँछ । आजको युगमा मोबाइल बैंकिङ, क्यूआर भुक्तानी, डिजिटल वालेट र एकीकृत कोर बैंकिङ प्रणालीको प्रयोग नगरी लघुवित्त क्षेत्र प्रतिस्पर्धी र सुरक्षित रहन सक्दैन ।
डिजिटल रूपान्तरणको अर्थ ग्रामीण समुदायसँगको मानवीय सम्बन्ध तोड्नु होइन, बरु औपचारिकताका लागि गरिने झन्झटिला र समय खर्चिने साप्ताहिक÷पाक्षिक÷मासिक बैठकहरूलाई व्यावहारिक र उद्देश्यमूलक बनाउनु हो । वित्तीय साक्षरता, व्यवसायिक परामर्श र समस्या समाधानका लागि गरिने संवादलाई प्राथमिकता दिँदै नियमित किस्ता भुक्तानी र बचत कारोबारलाई डिजिटल माध्यममा लैजाँदा समय र लागत दुवै बचत हुन्छ । यद्यपि डिजिटल प्रणाली लागू गर्दा ग्रामीण क्षेत्रका ज्येष्ठ नागरिक, कम साक्षर सदस्य र इन्टरनेट पहुँच कमजोर भएका भूगोललाई विस्थापित नगरी उनीहरूका लागि सहज वैकल्पिक सहजीकरण व्यवस्था समेत कायम राख्नुपर्छ ।
बहुऋण नियन्त्रण, कर्जा सूचना र नियामकीय समन्वय
नेपालको वित्तीय प्रणालीमा देखिएको एउटा गम्भीर विकृति बहुऋण हो । एउटै व्यक्ति वा परिवारले फरक–फरक लघुवित्त, सहकारी र बैंक तथा वित्तीय संस्थाबाट क्षमताभन्दा बढी कर्जा लिँदा संकटको बेला ऋण तिर्ने क्षमता एकैपटक समाप्त हुन्छ । कर्जा सूचना केन्द्रको प्रभावकारी उपयोग, वास्तविक समयमा अद्यावधिक हुने तथ्यांक र संस्थाहरूबीचको सूचना आदानप्रदानलाई अझै कडाइका साथ लागू गरिनुपर्छ ।
साथै, लघुवित्त, बचत तथा ऋण सहकारी र वाणिज्य बैंकहरूको कार्यक्षेत्रबीच देखिने अस्पष्टता र अस्वस्थ प्रतिस्पर्धालाई नियामकीय तहबाट स्पष्ट पार्न आवश्यक छ । ठूला वाणिज्य बैंकहरूले विपन्न वर्ग कर्जाको कोटा पूरा गर्न लघुवित्तमार्फत थोक कर्जा प्रवाह गर्ने वा सिधै तल्लो तहमा पुग्ने अभ्यासको समीक्षा गर्दै वास्तविक लक्षित वर्गसम्म सस्तो र दिगो पुँजी पुग्ने सुनिश्चितता गरिनुपर्छ । संस्थागत सुदृढीकरणका लागि आवश्यक देखिएका मर्जर तथा प्राप्तिको प्रक्रियालाई प्रोत्साहन गर्दै कमजोर संस्थाहरूलाई सबल बनाउने नीति पनि उत्तिकै महत्वपूर्ण छ ।
ऋणीको संरक्षण र वित्तीय साक्षरताको भूमिका
मोडेल परिवर्तनको बहस तब मात्र सार्थक हुन्छ, जब त्यसको केन्द्रमा ऋणीको वित्तीय स्वास्थ्य र संरक्षण रहन्छ । ऋण लिनु मात्र समाधान होइन; लिएको ऋणलाई सही ढंगले परिचालन गर्ने सीप र वित्तीय ज्ञान नहुँदा विपन्न परिवार झन् ऋणको दलदलमा फस्न सक्छ । त्यसैले कर्जा प्रवाहअघि नै अनिवार्य वित्तीय साक्षरता, नगद व्यवस्थापन, व्यवसाय योजना र जोखिम बुझ्ने तालिमलाई मोडेलको अभिन्न अङ्ग बनाउनुपर्छ ।
प्राकृतिक विपद्, स्वास्थ्य संकट वा बालीनालीमा हुने क्षतिजस्ता अनपेक्षित घटनामा ऋणीलाई तत्कालै कालोसूचीमा धकेल्ने वा कडा असुली दबाब दिने साटो कर्जा पुनर्संरचना, पुनर्तालिकीकरण वा बीमा दाबीको सहज व्यवस्था जस्ता मानवीय र व्यावहारिक उपाय अपनाउनुपर्छ । यसले संस्थाको साख जोगाउनुका साथै समुदायमा विश्वासको वातावरण पुनस्र्थापित गर्न मद्दत गर्छ ।
निष्कर्ष
नेपालमा लघुवित्तको मोडेल परिवर्तनको बहस कुनै संस्था वा प्रणालीलाई कमजोर बनाउन नभई यसलाई अझ विश्वसनीय, न्यायसंगत, प्रविधिमैत्री र दिगो बनाउने सुधारको प्रयास हो । गरिबी न्यूनीकरण, वित्तीय समावेशीकरण र ग्रामीण उद्यमशीलता विकासमा लघुवित्तको भूमिका अझै उत्तिकै सान्दर्भिक छ । तथापि, अब यसको सफलता कर्जा विस्तार र सदस्य सङ्ख्यामा मात्र नभई ग्राहकलाई प्रदान गरिने सेवाको गुणस्तर, प्रभावकारिता र उपलब्धिमा मापन हुनुपर्छ । मूल्य श्रृंखलामा आधारित वित्तीय सेवा, हरित वित्त, प्रभावकारी तथा आकर्षक बचत योजना, सीप विकास, उद्यमशीलता प्रवद्र्धन, बजार पहुँच र वित्तीय साक्षरताजस्ता विशिष्ट सेवामार्फत ग्राहकको उत्पादनशीलता र आयआर्जन क्षमता अभिवृद्धि गर्न आवश्यक छ । साथै, डिजिटल प्रविधिको प्रयोगबाट कर्जा, बचत, भुक्तानी, अनुगमन, जोखिम व्यवस्थापन र ग्राहक सेवाको सञ्चालनलाई सरल, पारदर्शी र प्रभावकारी बनाउनुपर्छ । नियामक निकाय, सञ्चालक, कर्मचारी, स्थानीय तह, विकास साझेदार र सदस्यबीचको सहकार्य तथा साझा प्रतिबद्धताबाट मात्र लघुवित्त क्षेत्र वर्तमान चुनौतीबाट माथि उठ्न सक्छ । यसरी कर्जामुखी दृष्टिकोणबाट सेवामुखी, उत्पादनमुखी र प्रविधिमा आधारित प्रणालीतर्फ उन्मुख हुँदै लघुवित्तलाई समावेशी, उत्तरदायी र समृद्ध अर्थतन्त्रको दिगो आधार बनाउन सकिन्छ ।























प्रतिक्रिया दिनुहोस्