नेपाल-फिनल्यान्ड चेम्बरको चौथो साधारणसभा सम्पन्न, व्यापार तथा लगानी साझेदारी विस्तारमा जोड

काठमाडौं। नेपाल र फिनल्यान्डबीच व्यापार, लगानी, पर्यटन, प्रविधि, शिक्षा तथा नवप्रवर्तनका क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यसहित नेपाल–फिनल्यान्ड चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ।

साधारणसभामा फिनल्यान्डका लागि नेपालस्थित राजदूत पेट्री पुभाक्का (H.E. Petri Puhakka) प्रमुख अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा अध्यक्ष प्रज्वल जंग पाण्डेले स्वागत मन्तव्य दिँदै नेपाल–फिनल्यान्ड चेम्बर सन् २०२२ मा दुई देशबीच आर्थिक कूटनीति र व्यापारिक साझेदारीलाई सुदृढ बनाउने उद्देश्यले स्थापना गरिएको बताए। चेम्बर संवादको माध्यम मात्र नभई व्यवसायिक सहकार्य, अवसर पहिचान र साझेदारीलाई व्यवहारमा उतार्ने सक्रिय प्लेटफर्मका रूपमा अघि बढिरहेको उनले उल्लेख गरे।

नेपाल र फिनल्यान्डबीच व्यापार, शिक्षा, संस्कृति तथा विभिन्न क्षेत्रमा सद्भावपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गर्दै उनले द्विपक्षीय आर्थिक सम्बन्धको सम्भावना अझै पूर्ण रूपमा उपयोग हुन नसकेको बताए। चेम्बरले आगामी दिनमा नेपाली वस्तुहरूको फिनल्यान्ड बजारमा निर्यात प्रवर्द्धन, व्यापारिक सम्बन्ध विस्तार तथा लगानीका अवसर सिर्जना गर्न प्राथमिकता दिने उनले जानकारी दिए।

उनले पर्यटन, व्यापार, लगानी, नवप्रवर्तन, दिगोपन तथा प्रविधिका क्षेत्रमा सहकार्यका व्यापक सम्भावना रहेको उल्लेख गर्दै फिनल्यान्डको नवप्रवर्तन र प्रविधिगत अनुभव तथा नेपालको प्राकृतिक स्रोत, पर्यटन र व्यवसायिक सम्भावनालाई जोडेर नयाँ साझेदारी निर्माण गर्न सकिने बताए।

“नेपाल व्यवसायका लागि खुला छ” भन्ने सन्देश दिँदै अध्यक्ष पाण्डेले नेपाल र फिनल्यान्डका व्यवसायी, लगानीकर्ता तथा साझेदारहरूलाई सहकार्यका लागि चेम्बरले सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले द्विपक्षीय व्यापारिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन फिनल्यान्डस्थित साझेदार तथा नेपालस्थित फिनल्यान्ड दूतावासको सहयोग महत्वपूर्ण रहेको बताए।

कार्यक्रममा मानार्थ सदस्य राजेश काजी श्रेष्ठले नेपाल–फिनल्यान्डबीच व्यापारिक सम्बन्ध विस्तारको यात्राबारे चर्चा गर्दै चेम्बर स्थापना र गतिविधि अघि बढाउन विभिन्न चरणमा भएको प्रयास स्मरण गरे। उनले नेपालबाट फिनल्यान्डमा निर्यात गर्न सकिने वस्तुहरूको पहिचान, व्यवसायीहरूको सहभागिता र बजार प्रवर्द्धनलाई चेम्बरको प्रारम्भिक प्राथमिकता बनाइएको बताए।

श्रेष्ठका अनुसार नेपाली चिया, गलैंचा, कफी, हस्तनिर्मित वस्तु, हर्बल साबुन, नेपाली कागज तथा जुत्तालगायत उत्पादनलाई फिनल्यान्ड बजारमा परिचित गराउन विभिन्न प्रयास गरिएको छ। फिनल्यान्डमा नेपाली कफी, नेपाली कागज र गोल्डस्टार जुत्ताको ब्रान्ड प्रवर्द्धनमा समेत पहल गरिएको उनले उल्लेख गरे।

उनले नेपाल–फिनल्यान्डबीच व्यापार मात्र नभई शिक्षा, प्रविधि, पर्यटन तथा लगानीका क्षेत्रमा पनि सहकार्य विस्तार गर्न आवश्यक रहेको बताए। फिनल्यान्डसँगको साझेदारीलाई थप प्रभावकारी बनाउन नेपाल–फिनल्यान्ड चेम्बरलाई द्विपक्षीय सहकार्यको प्रमुख समन्वयकारी संस्थाका रूपमा अघि बढाउनुपर्नेमा उनले जोड दिए।

श्रेष्ठले फिनल्यान्डको दूतावास, Finnpartnership तथा फिनल्यान्डका व्यवसायिक संस्थाहरूसँग चेम्बरमार्फत सहकार्य विस्तार गर्न सकिने उल्लेख गर्दै नेपाल र फिनल्यान्डबीच व्यापार तथा आर्थिक सम्बन्ध वृद्धि गर्न निरन्तर प्रयास आवश्यक रहेको बताए।

कार्यक्रममा राजदूत पेट्री पुभाक्काले नेपाल र फिनल्यान्डबीच व्यापार, लगानी, नवप्रवर्तन, स्वच्छ ऊर्जा, चक्रीय अर्थतन्त्र, शिक्षा तथा प्रविधिका क्षेत्रमा सहकार्यका अवसर रहेको उल्लेख गर्दै निजी क्षेत्रको सक्रिय सहभागिताले द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन सक्ने बताए।

नेपाल र फिनल्यान्डबीच व्यापारको मात्रा अपेक्षाकृत न्यून भए पनि भविष्यमा विस्तारका पर्याप्त सम्भावना रहेको उनको भनाइ थियो। नेपालमा जलविद्युत्, पर्यटन, सूचना प्रविधि, कृषि व्यवसाय तथा उद्यमशीलताका क्षेत्रमा अवसर रहेको उल्लेख गर्दै फिनल्यान्डको प्रविधि, नवप्रवर्तन तथा दिगो व्यवसायिक अभ्यासलाई नेपालको सम्भावनासँग जोड्न सकिने उनले बताए।

राजदूत पुभाक्काले नेपाल–फिनल्यान्ड चेम्बरले व्यवसायीहरूलाई जोड्ने, संवादको वातावरण बनाउने तथा नयाँ साझेदारी सिर्जना गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने भन्दै चेम्बरको प्रयासको प्रशंसा गरे।

फिनल्यान्डको नेपालसँगको विकास साझेदारी शिक्षा, खानेपानी तथा सरसफाइ, प्राकृतिक स्रोत व्यवस्थापन तथा जलवायु उत्थानशीलताका क्षेत्रमा केन्द्रित रहेको उल्लेख गर्दै उनले विकास सहयोग तथा व्यवसायिक सहकार्यलाई एकअर्कासँग जोडेर अघि बढाउन सकिने बताए।

साधारणसभाको अवसरमा पर्यटन क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएको भन्दै शिव ढकाललाई टुरिजम एक्सिलेन्स अवार्ड तथा व्यापार क्षेत्रमा योगदान पुर्‍याएको भन्दै उत्तम सिलवाललाई ट्रेड एक्सिलेन्स अवार्ड प्रदान गरिएको थियो।

कार्यक्रममा राजेश काजी श्रेष्ठलाई चेम्बरप्रति विशेष सहयोग तथा योगदानका लागि आउटस्टयाण्डिङ सपोर्ट अवार्ड प्रदान गरी सम्मान गरिएको थियो।

कार्यक्रमको अन्त्यमा वरिष्ठ उपाध्यक्ष विश्वेश श्रेष्ठले धन्यवाद मन्तव्य व्यक्त गर्दै सहभागी, अतिथि, सहयोगी तथा चेम्बरका सदस्यहरूलाई धन्यवाद दिए। सो अवसरमा उनले साधारणसभाले नेपाल र फिनल्यान्डबीच व्यापारिक, आर्थिक तथा संस्थागत साझेदारीलाई थप विस्तार गर्ने अपेक्षा राखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्