कांग्रेस बैठकमा देउवामाथि आक्रोशः ‘सभापति हुँ भन्दैमा धम्क्याउने ?’

काठमाडौं – कांग्रेस सभापति शेरबहादुर देउवाको पार्टी सञ्चालन कार्यशैलीलाई लिएर पूर्वमहामन्त्री प्रकाशमान सिंह शुक्रबार केन्द्रीय कार्यसमिति समिति बैठकमा आक्रामक रूपमा प्रस्तुत भएका छन् ।

सिंहले दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर देउवाले केही दिनअघि अनौपचारिक बैठकमा अनुशासनको कारबाहीको चेतावनी दिएपछि सिंह बैठकमै आक्रामक बनेका हुन् ।

‘पार्टी सभापति हुँदैमा हप्काउने, धम्क्याउने र कारबाही गर्ने धम्की दिने ? हामी पनि पञ्चायती व्यवस्थाविरुद्ध लडेका व्यक्ति हौं । तपार्इंले कारबाही गर्ने भन्दैमा डराउने कुरै छैन,’ बैठकमा सिंहले भने, ‘कसले कारबाही गर्ने ? ल कारबाही गरेर देखाउनुहोस् ।’

सिंहले देउवा सिंगो पार्टीको सभापति बन्न नसकेको, केही व्यक्ति र समूहको मात्रै सभापति बनेको आरोपसमेत लगाए । ‘सीमित मान्छेलाई राखेर पार्टी चलाउने अनि कारबाहीको धम्की दिने ?,’ बैठकमा सभापतिप्रति सबैभन्दा आक्रामक देखिएका सिंहले विधि र विधानविपरीत पार्टी सञ्चालन गर्दाको परिणाम नै निर्वाचनमा पार्टी पराजित हुनुपरेको बताएका थिए ।

समानुपातिक सांसदको सूची बुझाउँदा पार्टी सभापतिले नै केन्द्रीय कार्यसमितिको निर्णय उल्लंघन गरेको सिंहको आरोप थियो ।

केन्द्रीय कार्यसमिति बैठकले सुजाता कोइरालाबाहेक समानुपातिकबाट सांसद भइसकेकालाई नदोहोर्‍याउने निर्णय लिएको थियो ।

स्वास्थ्यका कारण प्रत्यक्षमा चुनाव लड्न नसक्ने भएपछि कोइरालालाई समानुपातिकमा राख्न केन्द्रीय कार्यसमितिको बैठकले ‘अपवाद’ मानेको थियो ।

तर, सभापति देउवाले एकपटक मात्रै नभएर दुई पटकसम्म समानुपातिक सांसद भएकालाई समेत सूचीमा राखेको भन्दै सिंहले कडा विरोध गरे ।

यो मुद्दामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका सदस्यले समेत बैठकमा कडा विरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्