एमालेसँगको एकता छिटै हुन्छ : प्रवक्ता भुसाल

काठमाडौ । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता पम्फा भुसालले नेकपा (एमाले)संगको एकतापछि मात्र नयाँ सरकार गठन हुने सम्भावना बढ्दै गएको बताएकी छिन् ।

आज आयोजित कार्यक्रममा बोल्दै एमालेसँग चाँडो एकता हुने तयारी भइरहेको पनि बताइन् ।

दुवै पार्टीबीच एकता भएपछि दुवै दलका नेताहरु एउटै पार्टीको हुने भएकाले पार्टी अध्यक्ष र प्रधानमन्त्री जो भए पनि एउटै पार्टीका नेता हुने विचार व्यक्त गरिन् । दुवै दलका अध्यक्षलाई पार्टी एकता गर्न दिइएको जिम्मेवारी अब चाँडै पूरा हुने उनको भनाइ थियो ।

मुलुकलाई स्थायित्व र समृद्धितर्फ लैजाने उद्देश्यले चुनाव अगावै निर्माण गरिएको वाम गठबन्धन कसैले चाहेर पनि फुटाउन नसक्ने बताउँदै प्रवक्ता भुसालले भनिन्, “जनताले दुवै दलका नेतालाई वाम एकता गर्न जनादेश दिएका हुन्, जनादेश अनुसार एकता र सरकार गठन हुन्छ ।”

सरकारले प्रदेशको अस्थायी मुकाम र प्रमुख तोक्ने विषयमा आफ्नो दलसँग कुनै पनि छलफल नगरेकोे बताउँदै उनले जनताले आवश्यक देखेमा दुई तिहाइको प्रक्रियाबाट मुकाम परिवर्तन गर्नसक्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्