कांग्रेसमा संस्थापन र असन्तुष्ट पक्षबीच सहमति जुट्यो , फागुनमै महाधिवेशन

काठमाडौं, माघ १० । लामो समय देखि विवादमै रहदै आएको नेपाली कांग्रेसमा संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच सहमति जुटेको छ ।

शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा करिब पाँच घन्टा बसेको शीर्ष नेताहरुको बैठकमा पार्टीमा देखिएको समस्या समाधान गरेर अघि बढ्ने सहमति भएसँगै दुवै पक्षबीच सहमति जुटेको बैठकमा सहभागी उपसभापति विमलेन्द्र निधिले बताए ।

यसअघि पुस ११ गते संस्थापन पक्षमात्र सहभागी भएको केन्द्रीय कार्यसमिति बैठकले निर्णय गरेको पार्टीको महाधिवेशनको मितिमै एक दिन थप गरेर महाधिवेशन गर्ने सहमति जुटेको पनि उनले बताए ।

निधिका अनुसार महाधिवेशन २०७७ फागुन ७–१० मा गर्ने सहमति भएको छ ।त्यस्तै महाधिवेशन कार्यतालिकालाई परिमार्जन गर्ने सहमति पनि बैठकमा भएको छ ।यस्तै कार्यतालिकालाई पदाधिकारी बैठकले टुंग्याउने र केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गरिने निर्णय बैठकले गरेको छ ।

त्यस्तै असन्तुष्ट पक्षले गर्दै आएको क्रियाशिल सदस्य छानवीन समिति पनि गठन गर्ने सहमति बैठकमा भएको निधिले जानकारी दिए ।बैठकले नेविसंघको पदाधिकारी चयन आइतवार गर्ने निर्णयसमेत गरेको छ ।  केन्द्रीय कार्यसमितिको अर्को बैठक माघ १३ गते बस्ने निर्णय बैठकले गरेको निधिले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्