राष्ट्रिय आवश्यकताका आधारमा पार्टी एकीकरण : मन्त्री पोखरेल
काठमाडौं, पुस २४ । उपप्रधान तथा रक्षामन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य ईश्वर पोखरेलले जनता एवं कार्यकर्ताको चाहना र राष्ट्रिय आवश्यकताका आधारमा पार्टी एकीकरण भएको बताएका छन् ।
नेकपा कास्कीद्वारा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा पोखरेलले ठूलो सङ्ख्यामा रहेका नेपालका कम्युनिष्टहरु छिन्नभिन्न हुँदा देशले समृद्धि र विकासमा अपेक्षित गति लिन नसकेका कारण आम जनताको चाहनाअनुसार दुई ठूला पार्टी एकीकरण गरिएको बताए ।
सरकारले आगामी दिनमा विकास लक्षित कार्यक्रम तीव्रताका साथ अघि बढाउने उनको भनाई छ ।
मुलुकमा लामो समयको अस्थिरताका कारण समृद्धि र विकासले अपेक्षित गति लिन नसकेको वास्तविकतामा बनेको वर्तमान स्थिर सरकारले दीर्घकालीन सोचका साथ काम अगाडि बढाइरहेको उनले स्पष्ट पारे ।
बितेका कुराले कुनै पनि फाइदा नहुने तर त्यसबाट शिक्षा लिएर अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिँदै उनले मतमात्र होइन, मनसमेत मिलाउनुको विकल्प नरहेको उल्लेख गरे ।
पार्टी एकीकरणका अधिकांश काम सकिएको बताउँदै मन्त्री पोखरेलले आगामी माघ १५ मा बस्ने पार्टीको केन्द्रीय कमिटीको बैठकले बाँकी काम टुङ्ग्याउने विश्वास व्यक्त गरे ।
सङ्घीय व्यवस्था देशका लागि नयाँ राजनीतिक अभ्यास भएको बताउँदै उनले सरकार गठनयता हालसम्मको समय अधिकांश नीति तथा कानून निर्माणमा व्यतित भएको बताए ।
प्रतिक्रिया दिनुहोस्