प्रेस स्वतन्त्रतामाथि कुनै खतरा छैन , सञ्चारमन्त्री बास्कोटा
काठमाडौं, पुस २३ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान सरकारका कारण प्रेस स्वतन्त्रतामाथि कुनै खतरा नरहेको बताएका छन् ।
नेपाल पत्रकार महासङ्घ भक्तपुरको आज आयोजित २३ औँ स्थापना दिवसमा उनले यस्तो बताएका हुन् । संविधानको मर्म विपरीत प्रेस स्वतन्त्रता कुण्ठित हुने अवस्था आए आफैंँ राजीनामा दिएर आन्दोलनमा उत्रने उनले चेतावनी दिए ।
मन्त्री बाँस्कोटाले पत्रकारको हकहितभन्दा बाहिर गएर मिडिया काउन्सिल विधेयक पारित नहुने स्पष्ट समेत पारे । आफू मन्त्री भएपछि रु पाँच करोड ३४ लाखको पत्रकारिता कल्याण कोष स्थापना गरेको र अब त्यसलाई बढाएर रु १० करोड पुर्याइने जानकारी उनले दिए । शङ्काकाका भरमा पत्रकारिता गर्नु गलत भएको हो भन्दै उनले गल्ती गर्नेलाई छाड्न नहुने पनि बताए ।
पत्रकारिता अझै विश्वसनीय र खोजमूलक बन्नुपर्छ भन्दै उनले पूर्वाग्रह राखेर समाचार नलेख्न पत्रकारलाई आग्रह गरे । उनले पत्रकारितालाई अब भजन, मिशन र पार्टी पत्रकारिताबाट माथि उठाएर ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानमा जोड्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्