वरिष्ठ नेता नेपाल भन्छन् -पार्टीमा समान व्यवहार हुनुपर्छ
काठमाडौं , पुस २० । । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा समान व्यवहार हुनुपर्ने बताएका छन् । कैलालीको धनगढीमा आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलन, सङ्घीयता र समृद्धि’ विषयको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
योग्यता र क्षमताका आधारमा कार्यकर्तालाई जिम्मेवारी दिनुपर्ने बताउँदै उनले पार्टी्भित्र गुटउपगुट बनाई कार्यकर्तालाई हेप्ने र पछाडि पार्ने प्रवृत्ति देखिएको तथा योग्यता र क्षमता भएका व्यक्तिमाथि अपमान भइरहेको बताए ।
नेता नेपालले पार्टीमा हाटहुटे व्यक्ति हावी भएमा पार्टी सकिने बताउँदै सबै नेता तथा कार्यकर्तालाई समान व्यवहार गरेर अघि बढ्नाको विकल्प नभएकामा जोड दिए ।
‘पार्टीमा एउटै गल्ती गर्दा कसैलाई फसाउने, कसैलाई पूजा गर्ने प्रवृत्ति बढेको छ, नियमकानून सबैलाई बराबर लागू हुनुपर्छ, कसैलाई पाखा त कसैलाई काखी गरिनुहुन्न ।’
उनले एमसिसी अनुदान सहयोग नेपालको हित विपरीत भएको जिकिर गर्दै त्यसमा रहेका केही बुँदा सच्याउनुपर्ने बताए । नेता नेपालले तीनै तहका सरकारले एकापसमा समन्वय गरेर विकासनिर्माणका कामलाई प्राथमिकता राख्नुपर्नेमा जोड दिए ।
साथै उनले सुदूरपश्चिम प्रदेशको समग्र विकासका लागि योजनाबद्धरुपमा लाग्नुपर्ने सुझाव पनि दिए ।यस क्षेत्रको सिवकासका लागि आफुले सक्दो पहद गर्ने पनि उनले बताए ।
प्रतिक्रिया दिनुहोस्