सूचना प्रविधि विधेयक सच्याउन कांग्रेसको माग

काठमाडौं , पुस १६ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सूचना प्रविधि विधेयक सच्याउन माग गरेको छ । कांग्रेसले हालै संसदको विकास तथा प्रविधि समितिले पास गरेको सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सच्याउन सरकारसँग माग गरेको हो ।

कुनै पनि बाहानामा नागरिकको स्वतन्त्रता र अधिकार कुण्ठित गर्ने र संविधानको प्रतिकूल ऐन नियम बनाउने सरकारको कदमप्रति कांग्रेसले विरोध गरेको हो । संविधानको प्रावधानको प्रतिकूल हुने, नागरिकका विचार एवं अभिव्यक्ति स्वतन्त्रताविरुद्ध सरकारको कदम रोक्न पनि कांग्रेसले सबै पक्षसँग आग्रह समेत गरेको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बुधबार विज्ञप्ती जारी गर्दै समितिबाट अगाडि बढाइएको विधेयकले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने, संविधानको प्रतिकूल हुने र मौलिक अधिकार हनन हुने हुँदा उक्त विधेयक सच्चाएर मात्र अगाडि बढ्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

संविधानले नागरिकको स्वतन्त्रता तथा मौलिक अधिकारको सुचिश्चितता गरेको भएपनि वर्तमान सरकारले नागरिकको मौलिक हक तथा संविधानका प्रावधानका प्रतिकूल नीति नियम बनाउन तल्लीन रहेको कांग्रेसको ठहर छ ।

पुस १३ गते आइतबार बसेको बैठकले कांग्रेसको विरोधका बाबजुद पनि बहुमतका आधारमा उक्त विधेयक पास गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्