राष्ट्रपति , प्रधानमन्त्री र प्रचण्डले दिए ‘तमूल्होसार’को शुभकामना, यस्तो छ सन्देश
काठमाडौं , पुस १५ । राष्ट्रपति विद्यादेवी भण्डारीले गुरुङ समुदायको महान् पर्व ‘तमूल्होसार’का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली गुरुङ दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेकी छन् ।
तमूल्होसारका अवसरमा शुभकामना सन्देशमा दिँदै उनले मुलुकको सांस्कृतिक सम्पदा संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्नसमेत गुरुङ समुदायले निर्वाह गरेको भूमिकाको सराहना गरेकी छन् ।
गुरुङ संस्कृति बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राष्ट्रका रुपमा रहेको हाम्रो मुलुकको राष्ट्रिय संस्कृतिको महत्वपूर्ण अङ्गका रुपमा रहेको बताउँदै राष्ट्रपतिले सन्देशमा तमूल्होसारजस्ता राष्ट्रिय पर्वले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाउन मद्दत गरेको उल्लेख गरेकी छन् ।
गुरुङ समुदायको यो पर्वले आपसी सद्भाव बढाई आर्थिक र सामाजिकरुपले समृद्ध मुलुक निर्माण गर्न प्रेरणा प्रदान गर्ने विश्वास राष्ट्रपतिले सन्देशमा व्यक्त गरेकी छन् ।
यसै उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तमू दिदी–बहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
पुरानो वर्षको बिदाइ र नयाँ वर्षलाई स्वागत गर्दै गुरुङ समुदायले मनाउने तमूल्होसार पनि फराकिलो हुँदै आम नेपालीको पर्वका रुपमा स्थापित हुँदै गएको बताउँदै उपराष्ट्रपतिले सन्देशमा हाम्रा धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन योगदान गरेको उल्लेख गरेका छन् ।
उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्दै राष्ट्रको समुन्नति र समृद्धिमा लाग्न तमूल्होसारले सबैलाई प्रेरित गरोस् भन्ने कामना गरेका छन् ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले पनि तमु (गुरुङ) समुदायको नयाँ वर्ष तथा प्रमुख चाड तमु ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहेका दिदीबहिनी दाजुभाइमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।ल्होसारका अवसरमा शुभकामना सन्देश दिँदै उनले तमु ल्होसार पर्वले तमु समुदायलगायत सम्पूर्ण नेपालीहरूको बीचमा हार्दिकता, धार्मिक सहिष्णुता र सम्मान कायम गर्दै राष्ट्रिय एकता प्रवर्द्धन गर्ने अपेक्षा गरेका छन् ।
हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक हो, यहाँ प्रचलनमा रहेका भाषा, धर्म, संस्कृति, वेषभूषालगायतका विविधता हाम्रा बहुमूल्य सम्पत्ति हुन् भन्दै प्रधानमन्त्रीले यस्तो विविधतायुक्त साझा सांस्कृतिक पूँजीलाई हामीले संरक्षण गर्दै आएको बताएका छन् ।
सन्देशमा प्रधानमन्त्री ओलीले तमु समुदायको रीति, परम्परा, संस्कृतिको संरक्षण र संवर्द्धन गर्दै अघि बढ्न यस पर्वले प्रेरणा दिने विश्वास पनि व्यक्त गरेका छन् ।
सन्देशमा तमु ल्होसार पर्वलाई गुरुङ समुदायमा नयाँ वर्षका रूपमा लिइने गरेको तथा गुरुङ (तमु) भाषामा ‘ल्हो’ भनेको दिन, र ‘सार’लाई पुस १५ को रूपमा लिइने गरेको चर्चा गर्दै उनले भूगोलअनुसार भिन्न नामले उच्चारण गरिए पनि तमु ल्होछारलाई संसारभरि छरिएर रहेका गुरुङ समुदायले आफ्नो नयाँ वर्ष वा वर्ग फेरिने दिनका रूपमा मनाउने गर्छन् भनेका छन् ।
“हाम्रो सुन्दर देशमा बहुसांस्कृतिक विशेषताहरु मौलिक पूँजीको रूपमा रहेका, एकता र सहिष्णुताको यो पूँजीलाई हामीले समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्छ, विभिन्न संस्कृतिमा आधारित यस्ता पर्वहरु हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान हुन्, नेपालको संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृतिसम्बन्धी विषयलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ”, सन्देशमा प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।
अध्यक्ष ‘प्रचण्ड’ ले पनि तमु ल्होसारका अवसरमा शुभकामना दिँदै मौलिक चाडपर्वले नेपालीबीच सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता मजबुत बनाउने बताएका छन् ।
स्वदेश तथा विदेशमा रहेका तमु दिदी–बहिनी तथा दाजुभाइमा शुभकामना दिँदै उनले पुरानो वर्षको बिदाइ र नयाँ वर्षलाई स्वागत गर्दै मनाइने यस पर्वले छुट्टै मौलिक परम्परा र सांस्कृतिक महत्व राखेको उल्लेख गरेका छन् । उनको सन्देशमा भनिएको छ, “सांस्कृतिक परम्पराको धनी राष्ट्र नेपालका तमु समुदायले सदियौँदेखि आफ्ना रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्दै आइरहेका छन् । राष्ट्रियताको सम्वर्द्धन र समुदायको पहिचानमा नै मुलुकको समुन्नति र समृद्धि निर्भर रहेको हुन्छ । यस्ता नेपाली समाजले विकास गरेको आफ्नै मौलिक विचार नेपाली राष्ट्रियताको जगमा उभिएको छ ।”
अध्यक्ष दाहालले २१ औं शताब्दीमा नेपाली पहिचानसहितको विचारलाई माथि उठाउन र विश्वव्यापी बनाउन सबै क्षेत्र, लिङ्ग, वर्ग, समुदायको ऐक्यबद्धता आजको आवश्यकता भएकामा जोड दिँदै यस पर्वले राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा ऊर्जा प्रदान गर्ने अपेक्षा व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्