जागरण न्यूजको प्रधान-सम्पादकमा विश्वकर्मा

काठमाडौं, ९ माघ । अनलाईन न्युज पोर्टल जागरण न्यूज डटकमको प्रधान-सम्पादकमा मेघेन्द्र विश्वकर्मा नियुक्त भएका छन् । नेपाल जागरण मिडिया प्रा.लि.का अध्यक्ष रञ्जित धमलाले विश्वकर्मालाई जागरण न्यूजको प्रधान-सम्पादकमा नियुक्त गरेका हुन् ।

विगत दुई दशकदेखि समसामयिक विषयमा प्रमुख दैनिक पत्रपत्रिकाहरुमा कलम चलाउँदै आएका विश्वकर्मा लेखन कर्ममा सक्रिय रहँदै आएका छन् । उनी त्रिभुवन विश्वविद्यालय किर्तिपुरबाट समाजशास्त्रमा एमफिलका शोधार्थी हुन् । समाजशास्त्र र राजनीतिक शास्त्रमा स्नातकोत्तर रहेका विश्वकर्मा मानवाधिकार र लोकतान्त्रिक आन्दोलनमा परिचित नाम हो । स्नातक तहसम्मको पत्रकारिताको अध्ययन गरेका विश्वकर्मा पत्रकारिताका क्षेत्रमा ०६७ देखि कुनै न कुनै रुपमा सक्रिय रहँदै आएका छन् । विश्वकर्माको समकालीन वामपन्थी राजनीति र दलित सवाल विषयमाथि लेखिएको पुस्तक छिटै प्रकाशनमा आउँदैछ । उनी लिखु गाउँपालिका–४ ओखलढुंगाका स्थायी बासिन्दा हुन् ।

नेपाल जागरण मिडिया प्रा.लिद्वारा ०७४ सालदेखि काठमाडौंमा सञ्चालनमा रहेको जागरण न्यूज डटकम् नेपालका प्रमुख अनलाईन न्यूज पोर्टलहरु मध्ये एक मानिन्छ । त्यसैगरी प्रा.लि.द्वारा प्रकाशित अर्थ विशेष मन्थ्ली म्यागेजिनमा समेत विश्वकर्माले यहि माघ ७ गतेदेखि औपचारिक रुपमा कार्यकारी सम्पादकको जिम्मेवारी सम्हालेका छन् ।
मिडियाका अध्यक्ष रञ्जित धमलाले विश्वकर्माको आगमनपश्चात् जागरण न्यूज डटकम् र अर्थ विशेष मन्थ्ली म्यागेजिनले नयाँ उचाई लिने विश्वास व्यक्त गरे । लेखन क्षेत्रमा देखिएको विश्वकर्माको वौद्धिकता पत्रकारिता क्षेत्रमा भरपूर रुपमा प्रयोग हुने ठानिएको छ ।

विश्वकर्माले नेपाल जागरण मिडिया प्रा.लिको कार्यालयमा पदभार ग्रहण गर्ने क्रममा पत्रकारिता प्रतिको धर्मलाई शिरोधार्य गर्दै सक्दो योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे । पत्रकारिता गर्नेहरुले भुल्न नहुने यथार्थता, सन्तुलन र विश्वसनीयता जस्ता मूल धर्मबाट कहिल्यै विचलित नहुने धारणा समेत उनले व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्