असाबधानीले पड्कियो बम, लियो ईन्स्पेक्टरसहित तिन जनाको ज्यान

पार्वती पाठक, काठमाडौं, मंसिर २८ । शुक्रबार मध्यराति धनुषाको क्षिरेश्वरनाथ नगरपालिका (५ महेन्द्रनगरमा शक्तिसाली बम विष्फोट भयो । यो घटनाले इलाका प्रहरी कार्यालय (सखुवा महेन्द्रनगर)का प्रहरी निरीक्षक (इन्स्पेक्टर) अमिर दाहालसहित तीनजनाको ज्यान गयो । बम विस्फोटमा परेर ४६ वर्षीय राजेश साह र उनका छोरा २४ वर्षीय आनन्द साहको घटनास्थलमै मृत्यु भएको हो भने इन्स्पेक्टर दाहालको उपचारका क्रममा ज्यान गएको हो ।

यसरी शक्तिशाली बम बिस्फोट हुँदा प्रहरी निरीक्षक अमिर कुमार दाहाल सहित एकै घरका बुवा र छोराको मृत्यु भयो । घटनामा अन्य चारजना घाइते भएका छन् । घाइते हुनेहरुमाराजेश साहका कान्छा छोरा १४ वर्षीय प्रकाश साह, छोरी २२ वर्षीया निक्कीकुमारी साह र बुबा ७३ वर्षीय भिखारी साह रहेका छन् । यस्तै एक जना प्रहरी जवान रिजनाथ कुमार महतो पनि घाइते भएका छन् । उनीहरुको अहिले उपचार चलीरहेको प्रहरलिे बताएको छ । यति बेला शुक्रबार बम विष्फोट घटनाले पूरै धनुषा जिल्ला शोकमा डुबेको छ ।


यसरी भयो घटना
शुक्रबार राति करिब सावा ११ बजे राजेशकी श्रीमति अञ्जु ओछ्यानबाट उठेर घर बाहिर रहेको शौचालय गइन् । उनले बाहिरको ढोका खोल्दा ह्यान्डलमा एउटा झोला झुन्ड्याइएको थियो । उनले वास्ता नगरी फर्केर ओछ्यानमा पुगिन् । लगत्तै राजेश पनि शौचालय गए । उनले पनि झोलालाई नछोइकनै ढोका खोले र फर्केर बन्द पनि गरिदिए । कोठामा आएपछि श्रीमतिसँग त्यो झोलाको बारेमा कुरा गरे । शंका लाग्यो र छोरा आनन्दलाई उठायो । छोराले विष्फोटक पदार्थ हुनसक्ने आशंका गरे ।

त्यसपछि यता राजेशले तत्कालै झोला झुन्ड्याइएको देखेपछि प्रहरीलाई खबर गरे । घरमा सुतिरहेका छोराछोरीलाई बाहिर निकाले । त्यसपछि इलाका प्रहरी कार्यालय सुखुवा महेन्द्रनगगरका इन्सपेक्टर अमिर दाहाल खबर पाउनासाथ आफै घटनास्थल पुगे । ढोकाको मुख्य गेटमा झुन्ड्याइएको झोलामा केही छैन भन्दै इन्सपेक्टर अघि–अघि र २ जना प्रहरी जवान पछि–पछि गएर छोएर हेर्न खोज्दा एकाएक बम विस्फोट हुन पुग्यो ।


यस्तो छ घाइतकोे बयान

घाइते ७० वर्षीय भिखारी साहले बम विस्फोटमा परि देब्रे आँखाको दृष्यशक्ति गुमाएका छन् । साहका अनुसार महेन्द्रनगरमा उनीहरुको २ वटा घर छ । उनले भने(एउटामा हामी बस्छौं र अर्कोमा छोरा बुहारी । मध्यराति घरको गेटमा झोला झुण्डिएको देखेपछि राजेश परिवारसहित हामी बस्ने गरेको घरमा आयो । परिवारलाई घरमा राखेर छोरा राजेश बम भएको घरमा गयो । त्यतिबेला इलाका प्रहरी कार्यालयबाट प्रहरी पनि आइसकेको थियो । केहीबेरपछि हामी पनि त्यहाँ पुगेका थियौं ।’

प्रादेशिक अस्पताल जनकपुरको शैय्याबाट उनले सम्झिँदै भने, ‘ढोकामा झुण्डिएको रातो झोला देखाउँदै प्रहरी निरीक्षक दाहालले ‘केही पनि होइन’ भन्नुभयो। प्रहरी निरीक्षक दाहालले यसो भनेको केही सेकेण्डमै ठूलो आवाजसहित बम विस्फोट भयो ।’

‘छोरा राजेश, नाती आनन्द र प्रहरी निरीक्षक दाहाल नजिकै हुनुहुन्थ्यो हामी केही पर थियौं,’ भिखारीले भने, ‘ठुलो आवाज आउनासाथ म बेहोस भएर भुईँमा लडें, त्यसपछि के भयो मलाई थाहा छैन ।’

घाइते भएका भिखारीलाई बिहान मात्र थाहा भएछ की उनले त्यो घटनामा आफ्ना छोरा र नाति समेत गुमाई सकेका छन् । ‘पुरै स्नासार नै एकै छिनमा ध्वस्त भयो,’ भन्दै उनी आँखाबाट बगेको आँसुलाई थाम्न सकिरहेका छैनन् । उनको टाउकोमा चोट लाग्नुको साथै देब्रे आँखामा लागेको चोटका कारण देख्न पनि नसकेको बताउँछन् ।

राजेश महेन्द्रनगरमैं औषधि पसल संचालन गर्दै आएका थिए । राजेशसँग लेनदेनसम्बन्धी विवादका कारण यस्तो घटना घटाइएको हुनसक्ने परिवारजनको आशंका छ ।
पेसाले मेडिकल व्यवसायी रहेका साह मिटर ब्याजमा संलग्न रहेको स्थानीय बताउँछन् । मिटर ब्याजकै कारण साहको घरमा बम राखिएको हुन सक्ने अनुमान गरिएको छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

संलग्न विप्लव समूहका ३ जना पक्राउ

 धनुषा बम विस्फोटमा संलग्न रहेको आशंकामा विप्लव समूहका तीन जना पक्राउ परेका छन् ।
प्रहरी इन्सपेक्टरसहित ३ जनाको ज्यान जाने गरी भएको बम बिस्फोट घटनामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा प्रतिबन्धित विप्लव समूहका तीन स्थानीय नेता रहेको बताएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामेश्वर कार्कीका अनुसार दुई महिला सहित ३ जनालाई पक्राउ गरिएकोको हो । पक्राउ पर्नेमा विप्लव समूहका प्रदेश नम्बर २ संयोजक ५१ वर्षिय सीतादेवि महरा, केन्द्रीय सदस्य ४१ वर्षिय ललिता महरा र रामसोभित गाहा रहेका छन् ।

प्रहरीले घटनाको कारण अझै खोतल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालयका अपराध अनुसन्धान टोलीले तीन जना शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएर छानबीन गरिरहेको र घटनाको सुक्ष्म अध्ययन तथा अपराधीलाई नियन्त्रणमा लिन प्रहरी निरिक्षक उमाशंकर साहको कमाण्डमा सात सदस्यीय विशेष टोली गठन गरेको प्रवक्ता कार्कीले बताएका छन्


कारबाहीको दायरामा ल्याइछाड्छुः गृहमन्त्री
गृहमन्त्रीले रामबहादुर थापाले धनुषामा गएराति भएको शक्तिशाली बम विस्फोटको घटनामा संलग्न अपराधीलाई कारबाही गरिछाड्ने बताएका छन् । हिजो मध्यरातमा बम विस्फोटमा परी एकै परिवारका बाबु–छोरासहित एक प्रहरी निरीक्षकको मृत्यु भएको उक्त घटना आततायी भएको भन्दै उनले सामाजिक सञ्जालमार्फत उक्त घटनाले आफू स्तब्ध भएको समेत उल्लेख गरेका छन् ।

फेसबुकमार्फत उनले भनेका छन् ’यस प्रकारको आततायी घटनामा संलग्न अपराधीलाई कानूनी कारबाहीको दायरामा ल्याइछाड्ने सरकारका तर्फबाट प्रतिबद्धता व्यक्त गर्दछु’, ।
गएराति भएको विस्फोटमा परी नेपाल प्रहरीका प्रहरी निरीक्षक अमिरकुमार दाहाल, स्थानीय राजेश्वर साह र आनन्द साहको मृत्यु तथा तीन स्थानीय घाइते भएको घटनाले स्तब्ध बनाएको छ, मृतकप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदनाका साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’, गृहमन्त्री थापाले भनेका छन्।

बम विस्फोटको घटनामा प्रहरीले साबधानी नअपनाउँदा ठूलो क्षति हुन पुगको छ । शंकास्पद बस्तु बम नै हो भन्ने एकिन गर्न प्रहरी निरीक्षक दाहालले आफैं झोला नाछामेर नेपाली सेनाको बम डिस्पोजल टोली बोलाएर निष्क्रिय गराउन सकेको भए आज यत्रो दुर्घटाना हुदैन् थियो होला ।

दुर्घटनाबाट ज्यान जोगिन पनि सक्निथ्यो । शंकास्पद बस्तु बम हुन सक्ने सूचना आएपछि प्रहरी घटनास्थल पुगेको थियो । तर प्रहरीले केही होइन भन्दै झोला चलाएलगत्तै शक्तिशाली विस्फोट हुन पुग्यो ।

सामान्यतया शंकास्पद बस्तु बम हुन सक्ने भन्दै डिस्पोजका लागि नेपाली सेनाको टोली बोलाइन्छ । तर घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज अमिरकुमार दाहालले ‘केही होइन’ भन्दै झोलामा छोएलगत्तै विस्फोट भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्