कालोबजारी नियन्त्रण गर्न सरकार प्रतिबद्धछः उद्योगमन्त्री
काठमाडौं , मंसिर २५ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कालोबजारी नियन्त्रण गर्न सरकार प्रतिबद्ध भएको बताएका छन् । बजार अनुगमन व्यवस्थित गर्न मन्त्रालयले काम गरिरहेको उनको दाबी छ ।
बजार व्यवस्थापन तथा उपभोक्ता हितका लागि संघ प्रदेश र स्थानीय तहको भूमिकाबारे उपभोक्ता हित संरक्षण मञ्चले आयोजना गरेको अन्तरक्रियामा बोल्दै मन्त्री भट्टले मन्त्रालयले व्यवसायीलाई जिम्मेवार बनाउने गरी काम गरिरहेको बताए ।
‘बजार अनुगमन भन्दा पनि बजार सचेतना पहिलो शर्त हो, सम्झाउँदा नमान्ने र कानून नटेर्नेलाई तह लगाउन सरकार प्रतिबद्ध छ,’ मन्त्री भट्टले भने । उपभोक्ता, व्यापारी र उत्पादक सबैलाई उत्तरदायी हुनेगरी सचेतनाको काम अघि बढाउने उनले बताए ।
उपभोक्ता हितमा काम गर्न आवश्यक कानुनको सबलीकरण गर्ने, सम्बन्धित विभागको क्षमता अभिवृद्धि गर्ने तथा बजार अवस्थाबारे आफै पनि सुक्ष्म ढंगले सूचना लिन मन्त्रालय लागिपरेको मन्त्री भट्टले बताए ।
छलफलमा बोल्दै बाणिज्य सचिव डा. बैकुण्ठ अर्यालले मन्त्रालयले चाडपर्वमा मात्रै हुने बजार अनुगमनको शैली बदल्ने उल्लेख गरे ।
‘बजार अनुगमनको नयाँ ढाँचाबारे मन्त्रालयले काम गरिरहेको छ, पहिले बुझाउने, दोस्रो सम्झाउने, तेस्रो सर्जीकल स्ट्राईक,’ सचिव डा. अर्यालले भने । उत्पादकहरुलाई वस्तुको उत्पादन लेवलबारे थप उत्तरदायी बनाउन थप गृहकार्य थालेको पनि उनले बताए । बजार व्यवस्थापन र उपभोक्ता हित संरक्षण सम्बन्धमा बनेको ऐन तथा संघ र प्रदेशले बनाएको कानूनका अस्पष्टता अन्त्य गर्न मन्त्रालय तयार रहेको उनको भनाइ छ ।
छलफलमा बोल्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले नियमावली प्रकाशनपूर्व नै ऐनमा देखिएको अस्पष्टता फेर्न गृहकार्य गर्ने बताए ।
यस्तै कार्यक्रममा बोल्दै केन्द्रीय अपराध अनुसन्धान ब्यूरोका प्रमुख डीआइजी निरज शाहीले उपभोक्ता हितसँग सम्बन्धित कानुन र फौजदारी कानुनमा केही मतभिन्नता देखिएको बताए ।
संघियता कार्यन्वयनको चरणमा कानूनी र व्यवहारिक अन्तरविरोधमा सरकारहरुबीच समन्वय हुन नसक्दा उपभोक्ताका मुद्धा आझेलमा परेका छन् ।
प्रतिक्रिया दिनुहोस्