समयमा काम नगर्ने ठेकेदारलाई कारबाहीको दायरामा ल्याइन्छः मन्त्री नेम्वाङ
काठमाडौं, मंसिर २२ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले समयमा काम नसकी अलपत्र पार्नेलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् ।
उनले कुनै पनि आयोजना निर्माणको जिम्मेवारी लिने र समयमै काम नसकी अलपत्र पार्नेलाई कारबाहीस्वरुप ठेक्का सम्झौता तोडेर नयाँ प्रक्रियाअनुसार काम अघि बढाइने बताए ।
रुपन्देही जिल्लाका विभिन्न क्षेत्रमा निर्माणाधीन विभिन्न सडक तथा पुलको अनुगमनपछि प्रेस सङ्गठन नेपाल, रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री नेम्वाङले यस्तो बताएका हुन् ।
आयोजनाका काममा लापरवाही गर्ने, अलपत्र पार्ने, समयमा नसक्ने निर्माण कम्पनी जो कसैलाई पनि कारबाहीको दायरामा ल्याइने बताए ।
साथै उनले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० मा बुद्ध जन्मस्थल लुम्बिनीलाई प्रमुख गन्तव्यका रुपमा राखेको अवस्थामा भ्रमण वर्ष शुरु हुनै लाग्दासमेत भैरहवा–लुम्बिनी सडकको सम्पन्न हुन नसक्नुलाई सरकारले गम्भीररुपमा लिएको जानकारी दिए ।
लुम्बिनी परिपथसहितको रुपन्देहीका ४१ किलोमिटर सडक र पुल द्रुतगतिको माध्यमबाट सम्पन्न गर्न मन्त्री नेम्वाङले निर्देशन दिए । उहाँले सिद्धबाबा क्षेत्रमा सुरुङ निर्माणको (विस्तृत आयोजना प्रतिवेदन) डीपीआर निर्माणको काम सम्पन्न भइसकेको र अबको एक महिनाभित्र बोलपत्र खुलाउने तयारी भइरहेको स्पष्ट पारे ।
पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीले यातायातमा एकाधिकार खारेज भइसकेको र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउन सरकारले काम गरिरहेको बताए ।
सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बुटवल पश्चिमको सडक विस्तारको कामको डीपीआएर निर्माण र लगानीको सुनिश्चितताको काम यसै वर्ष हुने समेल उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्