ग्लोबल र जनता बैंकले थाले एकीकृत कारोबार, ग्लोबल आईएमइ बैंक बने सबैभन्दा ठूलो वाणिज्य बैंक
काठमाडौं, २१ मंसिर । ग्लोबल र जनताबीच बिग मर्जर सम्पन्ने एकीकृत कारोबारले नेपाल राष्ट्र बैंकले लिएको बिगमर्जर नीतिले सार्थकता पाएको छ । नेपालको ८२ बर्षे बैंकिङ्ग इतिहासमानै पहिलो पटक शुक्रबार थालेको बिग मर्जरको नीतिले मुर्तरुप लिएको हो ।
अर्थमन्त्री डा.युवराज खतिवडाले शुक्रबार बिहान विशेष कार्यक्रमका साथ एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् । नेपालको बैंकिङ्ग इतिहासमा बिग मर्जर सम्पन्न भएको यो नै पहिलो पटक हो । मर्जर प्रकृयामा जान यी दुई बैंकले गत असार २० मा मर्जरका लागि प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।
जनता बैंकका केहि संचालक र उपल्लो तहका कर्मचारीहरुको रस्साकस्सीबीच मर्जर प्रकृया अगाडी बढेको थियो । सबै मर्जर प्रक्रिया सहित शेयर स्वाप रेसियो १००ः८५ अनुपातमा टुंगिएपछि बिहीबार दुवै बैंकको कारोबार बन्द गरिएको थियो । मर्जरपछि जनता बैंकको १ सय कित्ता शेयर भएका शेयरधनीको शेयर संख्या ८५ कायम भएको छ ।
एकीकृत भएका पछि बैंकको नाम ग्लोबल आईएमई नै रहेको छ, आइएमइ बैंका अध्यक्ष चन्द्र ढकाल सञ्चालक समिति अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत जनता बैंकका पर्शुराम कुँवर क्षेत्री रहनेछन । सात सदस्यीय नयाँ सञ्चालक समितिमा ग्लोबलबाट पाँच र जनताबाट दुई जना रहने छन् ।
यससँगै ग्लोबल आईएमई बैंक सबैभन्दा धेरै चुक्ता पूँजी भएको वाणिज्य बैंक भएको छ । आर्थिक वर्ष ०७५÷०७६ को मुनाफाबाट १२.७५ प्रतिशत र जनताले ६ प्रतिशत बोनस पारित पछि बैंकको चुक्ता पूँजी २० अर्ब पुग्नेछ । यसपछि बैंकको ३०० शाखा कार्यालय, २५९ एटीएम र २४१ शाखारहित बैंकिङ सेवा, ३३ एक्सटेन्सन काउन्टर र ८४० सेवा केन्द्रसहित ३ हजार २०० कर्मचारीबाट २० लाख ग्राहकलाई सेवा प्रदान गर्ने भएको छ ।
ग्लोबलले मुनाफा बाहेक पूँजी, निक्षेप, कर्जा लगानी, शाखा कार्यालय, कर्मचारी लगायत सबै सूचकमा सबै वाणिज्य बैंकहरुलाई उछिने छ । प्रथम त्रैमासमा ग्लोबलको ७५ करोड ३१ लाख र जनताको ३६ करोड ६९ लाख गरि कूल एक खर्ब १२ अर्ब मुनाफा रहेको छ ।
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई पूँजी, कर्जा जोखिम बहन क्षमता, प्रविधि लगायत सबै हिसाबबाट सक्षम र सबल बनाउने उदेश्यका साथ गत असार १२ गतेबाट बिग मर्जरमा जान बैंकहरुलाई निर्देशन दिएको थियो । यद्यपी ग्लोबल र जनता बाहेक अन्य वाणिज्य बैंकले हालसम्म बिग मर्जर सम्झौता गरेका छैनन् । यो संगै अरु बैंक बाणिज्य बैंकहरुलाई पनि मर्जरमा जान दवाब पर्ने निश्चित छ ।
प्रतिक्रिया दिनुहोस्