प्रधानमन्त्री ओली खतरामुक्त, अझै केहिदिन अस्पतालमै रहने

काठमाडौँ , मंसिर १३ । एपेन्डिसाइटिसको अप्रेशन गराएका प्रधानमन्त्री केपी शर्मा ओली अझै एक साता अस्पतालमा बस्नुपर्ने चिकित्सकहरुले बताएका छन् ।

महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भएपनि अझै एक साता अस्पतालमै बस्नुपर्ने जानकारी दिएको हो ।

मंसिर १० गते प्रधानमन्त्रीको एपेन्डिसाइटिसको शल्यक्रिया गरेका डाक्टर रमेशसिंह भण्डारीले प्रधानमन्त्री ओलीलाई पहिलाकै अवस्थामा फर्किनको लागि अझै दुई साता लाग्ने जानकारी दिए ।

‘अहिलेको हिसावले हेर्ने हो भने अबको ७ दिनमा हामीले उहाँलाई यहाँबाट पठाउन सक्छौँ’, उनले भने, ‘उहाँले घाउलाई सहन सक्ने अवस्था रह्यो भने १० दिनपछि काममा फर्कन सक्नुहुन्छ ।’ कसैको समयमै घाउ निको हुने र कसैलाई समस्या पनि हुन सक्ने भन्दै उनले यही अवस्थामा सुधार हुँदै गयो भने प्रधानमन्त्री अबको दुई सातामा सामान्य अवस्थामा फर्किन सक्ने पनि बताए ।

एपेन्डिक्स फुटेपछि पेटमा संक्रमण फैलिएको बताउँदै डा भण्डारीले हाल संक्रमण हटिसकेको जानकारी गराए । अहिले प्रधानमन्त्रीको अवस्था खतरामुक्त रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीको अहिले पनि आइसीयूमा राखेर उपचार भइरहेको छ । पत्रकार सम्मेलनमा प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्या सिंहले मिर्गाैला र एपेन्डिसाइटिसको अप्रेशन बाहेक कुनै पनि समस्या नभएको भन्दै मिर्गाैला प्रत्यारोपण गर्ने नगर्ने बारेमा निर्णय नभएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्