माओवादी केन्द्रबाट सरकारमा सहभागि मन्त्रीहरुले आज पदबाट राजीनामा दिने

काठमाडौं । माओवादी केन्द्रबाट सरकारमा सहभागि मन्त्रीहरुले पदबाट राजीनामा दिने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले जिम्मेवारी खोसेर विनाविभागीय बनाएको झण्डै चार महिनापछि माओवादी मन्त्रीहरुले राजीनामा दिन लागेका हुन् ।

सबै मन्त्रीको तर्फबाट उपप्रधानमन्त्री कृष्णबहादुर महराले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन् । अध्यक्ष प्रचण्डले हिजो सार्वजनिक बिदा भएकाले आज प्रधानमन्त्री देउवालाई भेटेर राजीनामा पत्र बुझाउनेछन् । छलफल पछि नै राजीनामा दिएको विना विभागीयमन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए ।

प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्र र एमालेबीच वाम गठबन्धन बनेपछि प्रधानमन्त्री देउवाले माओवादीका सबै मन्त्रीलाई जिम्मेवारीबाट हटाएर विनाविभागिय बनाएका थिए ।

देउवा नेतृत्वको सरकारमा ९ जना मन्त्री र ७ जना राज्यमन्त्री थिए । मन्त्री मिथिला चौधरीले आफू निकट नेतासँग छलफल गरेर मात्र राजीनामा दिने बताएका छन्। जनसंख्या तथा बातावरण मन्त्री चौधरी नेकपा संयुक्तले माओवादी केन्द्रसँग असोज २५ गते पार्टी एकता गरेपछि स्वतः माओवादी मन्त्री बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्