प्रदेश सरकार र राष्ट्रिय सभा निर्वाचनको तयारी गर्न एमाले- माओवादी संयुक्त कार्यदल

काठमाडौं । एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिले कार्यदल बनाएको छ । प्रदेशसभा र प्रदेश सरकार गठनको गृहकार्य गर्न कार्यदल गठन गरेको हो । कार्यदलमा एमालेबाट सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे छन् भने माओवादीबाट रामबहादुर थापा बादल, वर्षमान पुन र मातृका यादव छन् ।

पार्टी एकता भने नेताले केही दिनभित्रै हुने जानकारी दिएका छन् । बैठकमा पार्टीको बैचारिक-राजनीतिक र संगठनबारे गृहकार्य गर्न कार्यदल बनाउने सैद्धान्तिक सहमति भएपनि कार्यदल गठन भने भएको छैन ।

ठकबाट बाहिरिँदै एमाले उपाध्यक्ष वामदेव गौतमले एमाले अध्यक्ष ओली भोलि उपचारको लागि बैंकक जाने भएकोले एक सातापछि पूनः बैठक बसेर सबै कुरा टुँगो लगाउनेपनि जानकारी दिए ।

प्रतिनिधि सभा निर्वाचनमा ६०/४० को भागवण्डा गरेका दुई दलले राष्ट्रिय सभामा पनि सोहि अनुसारको भागवण्डा गर्दैछन्। त्यस्तै सातै प्रदेशमा सरकार निर्माणका लागि समेत दुई दलले अग्रसरता देखाएका छन्। प्रदेश नं २ बाहेक ६ प्रदेशमा गठबन्धनको बहुमत छ। कार्यदलले प्रदेश सरकारको मुख्यमन्त्री देखि सरकारमा रहने मन्त्रीसम्मको भागवण्डा मिलाउनेछ। निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचन कार्यतालिका बुधबार सार्वनजिक गर्दैछ।

गौतमले सैद्धान्तिक र संगठनात्मक स्वरुप निर्माणबारे कार्यदल बनाउने विषयमा अर्को बैठकमा छलफल हुने बताए।

एमाले र माओवादीको बैठकले निर्वाचित जनप्रतिनिधिलाई सत्ता हस्तान्तरणका लागि आवश्यक न्यूनतम संवैधानिक र कानुनी प्रक्रिया पुरा गर्ने र दैनिक कार्यसञ्चालन बाहेक अन्य निर्णय नगर्न सरकारलाई भनेको छ ।  साथै संवैधानिक दायित्व अनुसार प्रदेशको अस्थायी मुकाम तोक्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्