मर्जिन कारोबार तत्काल सुरु ब्रोकर कम्पनीहरुलाई नेप्सेको निर्देशन

काठमाडौं, १० असोज । नेपाल स्टक एक्सचेञ्जले ब्रोकर कम्पनीहरुलाई तत्काल मार्जिन कारोबार सुविधा सुरु गर्न निर्देशन दिएको छ ।

धितोपत्र बोर्डले असोज १ गते नेप्सेलाई पत्राचार गर्दै मार्जिन कारोबार सुविधा कार्यान्वयनमा ल्याउन निर्देशन दिएपश्चात नेप्सेले अनुमति प्राप्त ब्रोकर कम्पनीहरुलाई मार्जिन कारोबार सुविधा शीघ्र सञ्चालनमा ल्याउन निर्देशन दिएको हो ।

हाल नेपाल स्टक एक्सचेञ्जबाट २१ वटा ब्रोकर कम्पनीले मार्जिन कारोबारको लागि अनुमति पाएका छन् । मार्जिन कारोबारको लागि आवश्यक पुर्वाधार व्यवस्था भइसकेको अवस्थामा अनुमति पाएका ब्रोकर कम्पनीहरुले मार्जिन कारोबारको सुविधा कार्यान्वयनमा नल्याएपछि नेप्सेले निर्देशन जारी गर्दै लगानीकर्ताको हित तथा बजारलाई थप चलायमान बनाउन यथाशीघ्र मार्जिन कारोबार सञ्चालनमा ल्याउन निर्देशन दिएको हो ।

धितोपत्र बोर्डले दोस्रो बजारमा तरलता अभिवृद्धि तथा धितोपत्र व्यवसायीको दायरा विस्तार गर्ने क्रममा २०७४ कात्तिक २० गते मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन २०७४ जारी गरेको थियो । सो निर्देशनमा व्यवस्था गरिएका कार्यविधिलाई आवश्यक परिमार्जन गरी कार्यान्यवन गर्न बोर्डले नेप्सेलाई पहिलोपटक २०७५ जेठ ४ गते निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्