कृषि विकास बैंकको रकम चोरी प्रकरणमा संलग्न ११ जना पक्राउ, ६० लाख रुपैयाँ बरामद

काठमाडौं, असोज ८ । कृषि विकास बैङ्कको कोर बैंकिङ सिस्टम प्रयोग गरेर रकम चोरी प्रकरणमा संलग्न ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

राजधानी सहित अन्य विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा नुवाकोटको मेघाङ गाउँपालिका ४ का लवङ तामाङ, लमजुङ दोदी गाउँपालिकाका विद्यासागर लामिछाने, सर्लाहीका पुष्पराज खड्का, काठमाडौं ताकेश्वरका सञ्जय घले, तारकेश्वरकै लक्ष्मी लामा तामाङ, निर्मला तामाङ, निमा तामाङ, लक्ष्मी श्रेष्ठ र श्रवण कुमार श्रेष्ठ रहेका छन् । यसैगरी कैलालीको भजनीका विजय कुमार शाह र भारत कलकताका शुभन्कर पन्जापनि पक्राउ परेका छन् ।

उनीहरुको साथबाट बैंकबाट चोरी गरेको करिव ६० लाख रुपैयाँ बरामद भएको प्रहरीको भनाइ छ ।

सोमबार र मङ्गलबार बैङ्कबाट अस्वभाविकरुपमा ट्रान्जेक्सन भएको पाइएपछि बैङ्कले तत्कालै प्रहरीलाई खबर गरेको थियो । त्यसलगत्तै खटेको प्रहरीले पैसा निकाल्दै गर्दा दुई जनालाई नियन्त्रणमा लिएको थियो भने उनीहरुले दिएको बयानको आधारमा अन्यलाई पनि नियन्त्रणमा लिइएको थियो ।

कृषि विकास बैङ्क श्रोतका अनुसार बैङ्कको लहान शाखाबाट विभिन्न ७ जना व्यक्तिको नाममा रकम ट्रान्सफर गरिएको थियो । ७ जना व्यक्तिका नाममा करिब ४ करोड रुपैयाँ ट्रान्सफर गरिएको हो । जसमध्ये डेढ करोडभन्दा बढी रुपैयाँ उनीहरुले निकालिसकेका थिए भने बाँकी रकम निकाल्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।

कृषि विकास बैङ्क लाहान शाखाका म्यानेजरको युजर नेम र पासवर्ड प्रयोग गरी त्यही कम्प्युटर वा अन्य कुनै कम्प्युटरबाट करिब ४ करोड रकम ट्रान्सफर गरिएको छ । सो रकम विभिन्न ७ जना व्यक्तिका नाममा ट्रान्सफर गरिएको थियो, जसमध्ये २ जना व्यक्ति रकम निकाल्दै गर्दा पक्राउ परेका थिए ।

लहान शाखाका म्यानेजरको युजरनेम र पासवर्ड प्रयोग गरी त्यही सिस्टमबाट रकम ट्रान्सफर भएको पाइएको छ । म्यानेजर आन्तरिक तालिमका लागि काठमाडौँमै रहेकोबेला उनको एकाउट प्रयोग गरिएको छ । त्यसकारण अन्य कुनै कर्मचारी वा बैङ्क म्यानेजरकै संलग्नता रहेको हुनसक्ने भन्दै उनलाईसमेत नियन्त्रणमा लिइएको प्रहरीले दाबी गरेको छ । रकम चोरी गर्दा बैङ्कमा भएको नाफामध्ये केही रकम ती खाताहरुमा ट्रान्सफर गरिएको छ ।

असार मसान्तसम्मको नाफाको हिसाबकिताब रुजु भइसकेकाले ती रकम नचलाइएको बताइएको छ । साउन र भदौ महिनाको नाफाबाट डेबिट (बैङ्कबाट निकालिएको रकमं) गरेर उक्त रकम ट्रान्सफर गरिएको छ । अर्को अडिट नभएको अवस्थामा बैङ्कको नाफा चोरी गरिएको हो ।

कृषि विकास बैङ्कको बैङ्किङ सिस्टम ह्याक भएको नभई मिलेमतोमा रकम चोरी भएको बैङ्क श्रोतले दाबी गरेको छ । बैङ्कको कोर बैंकिङ सिस्टम प्रयोग गरी त्यहाँ रहेको नाफा रकम विभिन्न व्यक्तिको खातामा ट्रान्सफर गरिएको हो । बैङ्क कर्मचारीकै मिलेमतोमा उक्त रकम ट्रान्सफर भएको हुनसक्ने प्रबल सम्भावना रहेको प्रहरीले बताएको छ । सफ्टवेयर वा सिस्टम ह्याक भएको नभई कर्मचारीकै युजरनेम र पासवर्ड प्रयोग गरी रकम ट्रान्सफर गरिएकाले यो ह्याक नभई चोरी भएको बैङ्कले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्