केसीको पक्राउ प्रति किन जनाए देउवाले आपत्ति ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अनशनरत डा गोविन्द केसीलाई विनाजानकारी प्रहरीले पक्राउ गरेको भन्दै आपत्ति जनाएका छन् । डा केसीलाई अपराधी जस्तो गरि पक्राउ गरेकोमा गृहमन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्रीले आपत्ति जनाएका हुन्।

डा केसीको गिरफ्तारी बारे प्रधानमन्त्रीलाई थाहा नदिइएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले बताए ।

सोमवार सर्वोच्च अदालतमा परेको अवहेलना सम्वन्धी मुद्दाको सुनुवाई गर्दै अदालतले गृहमन्त्रालय र नेपाल प्रहरीलाई आदेश जारी गर्दै मंगलवार डाकेसीलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो । अदालतको आदेशपछि डा केसीलाई प्रहरीले उनको अनशन स्थलबाटै गिरफ्तार गरेको छ।

केसीले प्रहरी परिसरमै अनशन जारी राखेका छन् ।मेडिकल शिक्षाको सुधारको माग गर्दै पटक पटक सत्याग्रह गर्दै आएका केसी सर्वोच्च अदालतबाट चिकित्सा शास्त्र संकायका डिनलाई पुर्नस्थापना गर्ने निर्णय भएपछि आक्रोशित हुँदै अर्को चरणको आमरण अनसनमा बसेका थिए ।

उनले यसपटक प्रधानन्यायाधीशको राजीनामा मागेर अनसन सुरु गरेलगत्तै अवहेलना मुद्दा दायर भए लगत्तै मुद्दाको सुनुवाइ भएर पक्राउ आदेश जारी भएको हो ।

यसैबीच डा केसीको आन्दोलनका समर्थकहरुले मंगलवार विहान माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्