प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न सरकारलाई वाम गठबन्धनको दबाब

काठमाडौं– प्रदेशसभाको अस्थायी राजधानी र प्रदेश प्रमुखको नियुक्त तत्काल गर्न सरकारलाई वाम गठबन्धन आबद्ध दलले दबाब दिएका छन्। प्रादेशिक राजधानीको माग गर्दै मुलुकका विभिन्न स्थानमा आन्दोलन चर्कन थालेपछि सरकारले तत्काल अस्थायी राजधानी नतोक्ने बताएको थियो।

दलीय छलफलमा प्रादेशिक राजधानी र प्रदेश प्रमुख नियुक्ति गर्न सरकारलाई अख्तियारी दिएका वाम गठबन्धनका नेताले अस्थायी राजधानी तोक्न आवश्यक रहेको बताउन थालेका छन्। माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभाले निर्णय नगर्दासम्म अस्थायी केन्द्र तोक्न अनिवार्य रहेको र त्यो सरकारको जिम्मेवारी रहेको बताए।

प्रदेश प्रमुख नतोक्ने सरकारको तयारी असंवैधानिक र संघीयता विरोधी हो, उनले भने, सरकार अलोकतान्त्रिक र गैर जिम्मेवार कार्य गरिरहेको छ। प्रदेशको अस्थायी काम चलाउन तत्काल केन्द्र तोक्न माग गर्दै श्रेष्ठले प्रदेश प्रमुख नियुक्तिको प्रक्रिया अघि बढाउनसमेत आग्रह गरेका छन्।

प्रदेशको अस्थायी राजधानीले तत्काल विवाद उत्पन्न गर्ने भएकाले सरकारले सातै प्रदेशसभाको बैठक काठमाडौंमा गराउने र त्यही प्रदेशसभा बैठकबाट राजधानी तोक्ने बताउँदै आएको थियो। अस्थायी राजधानी तोक्दा सो निर्णय अलोकप्रिय हुने डर वर्तमान सरकारलाई छ।

वाम गठबन्धन आबद्ध एमाले र माओवादी केन्द्रले अस्थायी राजधानीसमेत वर्तमान सरकारले तोक्नुपर्ने दबाब दिएका छन्। तर सहमतिमा निर्णय गर्न सरकारले गरेको प्रस्तावमा गठबन्धनका नेता भने सो काम सरकारको जिम्मेवारी भन्दै पन्छिने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्