प्रधानमन्त्री ओलीले भने- मोदीसँग हातमा हात मिलाएर काम गर्न तयार छु

२४ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भारतीय समकक्षी नरेन्द्र मोदीसँग हातमा हात मिलाएर काम गर्न तयार रहेको बताएका छन् ।

आइतबार भिडियो कन्फरेन्समार्फत मोतिहारी अमलेखगन्ज पाइपलाइनको संयुक्त उद्घाटनपछि उनले यस्तो बताएका हुन् ।


प्रधानमन्त्री ओलीले नेपाल र भारतको साझेदारी केही आयोजनामा मात्र सीमित नरहेको बताए ।
द्विपक्षीय साझेदारीले रेलवे, वाटरवे, जलविद्युत उत्पादन, एकीकृत भन्सार जाँच चौकी, पर्यटन, कृषिलगायतका क्षेत्रमा विस्तार भएको प्रधानमन्त्री ओलीलेबताए ।


उनले विगतका सफल भ्रमणको स्मरण गर्दै उपयुक्त समयमा नेपाल भ्रमण गर्न मोदीलाई निम्तासमेत दिएका छन् ।

केही वर्षयता भारतीय सहयोगमा सञ्चालित आयोजनाको प्रगति राम्रो रहेको भन्दै उनले भूकम्पपछिको पुनर्निर्माणमा गोरखा र नुवाकोटमा गरी भारतीय सहयोगमा ५० हजार घर बनेको जानकारी गराए ।


पछिल्लो समय नेपाल र भारत दुबैमा बलियो र स्थिर सरकार रहेको भन्दै प्रधानमन्त्री ओलीले दुबै देश उदाउँदो अर्थतन्त्र र सक्षम युवा जनशक्ति साझा विशेषता भएको बताए ।

प्रतिक्रिया दिनुहोस्