एमालेसहित सबै वामपन्थी शक्तिहरूलाई एकताको लागि प्रचण्डको आह्वान

​काठमाडौं, १७ कार्तिक । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमालें) सहित सबै वामपन्थी शक्तिहरूलाई एकताको लागि आह्वान गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचको पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै संयोजक दाहालले यस्तो आह्वान गरेका हुन् । उनले अहिले मुलुक असाधारण संकटमा रहेको उल्लेख गर्दै सबै खालका आग्रह, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर राष्ट्रलाई प्राथमिकतामा एकताबद्ध हुनुपर्ने आवश्यकता रहेको बताए ।

‘म फेरि पनि भन्न चाहन्छु, नेकपा एमालेदेखि हिजो माओवादी र एमालेका विभिन्न धारामा रहेका सबै समूहहरूलाई पनि एकताबद्ध गर्ने जिम्मेवारी तपाईं–हामी सबैको काँधमा छ । माधवजीले केपी ओलीको नाम लिँदाखेरि अलिकति के हुने हो भन्नुभयो, मलाई चाहिँ त्यस्तो लागेको छैन । केपी ओलीसमेत मोहन विक्रमजी समेत, मोहन वैद्य किरण, नेत्रविक्रम चन्द विप्लव लगायत सबै बाँकी कम्युनिस्ट समूहहरूलाई पनि अघि उमा भुजेलले भनेजस्तै आजको देशको वस्तुगत आवश्यकता बनेको छ कम्युनिस्टहरूको एकता, देशभक्त र लोकतन्त्रवादीहरूको एकता एउटा ऐतिहासिक आवश्यकता बनेको छ,’ प्रचण्डले भनेका छन् ।

विगतमा विभिन्न कोणबाट एकता र सहकार्य गर्दा भोगेका उतारचढावहरूको आत्मसमीक्षा गर्दै मुलुकको स्वाधीनताको रक्षाका निम्ति फेरि एक पटक एकतावद्ध हुन जरुरी रहेको प्रचण्डको भनाइ छ । हिजो माओवादी र एमालेका विभिन्न धारमा रहेका नेता कार्यकर्ताहरूलाई जोड्ने जिम्मेवारी समेत आफूहरूकै काँधमा रहेको उनको भनाइ छ ।

‘म यो मञ्चबाट ती सबै कमरेडहरू जसलाई हामीले विगतमा विभिन्न रूपमा सहकार्य गर्‍यौँ, एकता गर्‍यौँ, थुप्रै–थुप्रै उतारचढावहरू भोग्यौँ, आज देश असाधारण संकटमा छ । यो बेला हामी सबैले आफ्नो सोचाइलाई, आफ्नो बुझाइलाई, आफ्नो भावनालाई अझ फराकिलो गर्नुपर्ने, सबै खालका आग्रह, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर राष्ट्रलाई प्राथमिकतामा राखेर, देशलाई प्राथमिकतामा राखेर एकतावद्ध हुने आजको आवश्यकता हो । हामी सबै त्यसैमा केन्द्रित होऔं,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्