झापा सुकुम्बासीको समस्या र गुनासो सुन्दै मन्त्री रावलको आश्वासन, दुई महिनाभित्र लालपुर्जा वितरण गछौं

​काठमाडौं, १७ कार्तिक । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले झापा आएर भूमिहीन, अव्यवस्थित बसोबासी तथा सुकुम्बासीको समस्या र गुनासो सुनेकी छन् ।

सोमबार र आज उनले दमक, कनकाई, अर्जुनधारा र बुद्धशान्तिका बस्तीमा पुगेर स्थानीयसँग समस्या र समाधानका विषयमा छलफल गरिन् । आज बुद्धशान्ति गाउँपालिका(४ को सुकुम्बासी बस्तीमा पुगेकी मन्त्री रावलले सरकारले सुकुम्बासी समस्या स्थायी रूपमा समाधान गरी जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने बताइन् ।

बुद्धशान्ति गाउँपालिकाका सुकुम्बासीलाई आगामी दुई महिनाभित्र लालपुर्जा वितरण गर्ने रावलको आश्वासन छ । स्थानीयले मन्त्रीसमक्ष लामो समयदेखि लालपुर्जा पाउन नसकेको गुनासो राखेका थिए ।

आउँदो चुनावमा सुकुमबासी समस्या कुनै पनि दलको चुनावी नारा बन्न नदिने भन्दै उनले सबै समस्या चाँडोभन्दा चाँडो हल गर्ने बताइन् ।

विद्यमान कानुनी बाधा फुकाउन अध्यायदेशहरू ल्याइसकेको र आवश्यक परे पुनः कानुन परिमार्जन गर्न सरकार तयार रहेको उनको भनाइ छ ।

यसअगाडिका धेरै सरकारले आश्वासन मात्रै दिने गरेको जनगुनासो रहेकाले यो सरकारले काम गरेरै छाड्ने उनको प्रष्टोक्ति थियो ।

झापा निर्वाचन क्षेत्र नं १ का सांसद रमेश प्रसाईँले जिल्लामा सुकुम्बासी समस्या समाधानको काम अपेक्षाकृत हुन नसकेकाले मन्त्री स्वयं स्थलगत भ्रमणमा आउनुपरेको बताए । मन्त्रीको भ्रमणले वर्षौंदेखि लालपुर्जा पाउन नसकेका नागरिकमा जग्गाको स्वामित्व प्राप्त गर्ने आशा जागेको उनको भनाइ थियो ।

झापा आएलगत्तै मन्त्री रावलले जिल्ला प्रशासन कार्यालयमा जिल्लाका १५ वटै पालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग छलफल गरी सुकुम्बासी समस्या समाधानका लागि तीव्र गतिमा परिणाममुखी काम गर्न निर्देशन दिइन् ।

प्रतिक्रिया दिनुहोस्