महानपर्वलाई लक्षितगरि एकिकृत सहुलियत पसल सञ्चालन, कुनको मुल्य कति ?

काठमाडौं, २३ भदौ । नेपालीहरुको महानपर्वलाई लक्षितगरि आम उपभोक्तालाई सहुलियत दिने उदेश्यले सरकारले सोमबारदेखि काठमाडौ उपत्यकालगायत उपत्यका बहिर पनि विभिन्न स्थानमा एकिकृत सहुलियत पसल सञ्चालनमा ल्याएको छ ।

सोमबार साल्ट्रेडिङ्ग कर्पाेरेशन कम्पनी लिमिटेड, दुग्ध विकास संस्थान र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले संयुक्त रुपमा एकिकृत सहुलियत पसल सञ्चालनमा ल्याएको हो ।
एकिकृत सहुलियत पसल उपत्यकाका ९ ठाउँ सहित देशका मुख्य मुख्य शहर र ठाउँमा पनि सहुलियत पसल सञ्चालन हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । आजदेखि सुरु भई सहुलियत पसल कात्तिक १७ गतेसम्म सञ्चालनमा रहने छन् ।

सुपथ मूल्य पसलमा घ्यूमा प्रतिकेजी ५० रुपैयाँ छुटको व्यवस्था गरिएको छ । पनिरमा प्रतिकेजी १० रुपैयाँ छुट त्यसैगरी चिनीमा प्रतिकेसी ५ रुपैयाँ, नुनमा प्रतिकेसी २ रुपैयाँ छुटको व्यवस्था गरिएको छ । चामल, दाल बोरामा १० रुपैयाँदेखि २० रुपैयाँसम्म छुट दिने व्यवस्था गरिएको साल्ट ट्रेडिङका व्यपार प्रमुख ब्रेजेशकुमार झाले जानकारी दिनुभयो ।

सहुलियत पसलमा नुन, चामल, चिनी, गेडागुडीदेखि मासुसमेत सहुलियत मूल्यमा उपलब्ध गराईने छ । सुपथ मूल्य पसलमा मोटा चामलमा प्रतिकिलो ५ रुपैयाँ, नुनमा दुई रुपैयाँ, मसिनो चामलमा तथा गेडागुडीमा प्रतिकिलो १० रुपैयाँ छुट पाइनेछ । त्यस्तै, च्यांग्रा र खसी बोकामा प्रतिकिलो १० रुपैयाँ छुट दिइने मन्त्रालयले जनाएको छ ।

साल्ट ट्रेडिङले चाडपर्वलाई लक्षित गरेर काठमाडौंमा ६ वटा सुपथ मूल्य पसल संचालनमा ल्याएको छ । देशका मुख्य अन्य शहर पनि ३४ पसल संचालनमा ल्याउने तयारी गरेको छ ।
साल्ट ट्रेडिङ, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र दूग्ध विकास संस्थाले सहुलियत पसल सहित काठमाडौंमा ३ वटा घुम्ती पसल सञ्चालन गर्ने तयारी पनि गरेको छ । देशैभरमा साल्ट ट्रेडिङले ३५ वटा, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २३ वटा र दुग्ध विकास संस्थानले १५ वटा सहुलियत पसल सञ्चालन गर्ने तयारी गरेका छन् ।

वाणिज्य विभागका अनुसार काठमाडांै उपत्यकामा कालिमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुंगल, ललितपुर, भक्तपुर लगायत ९ ठाउँमा सहुलियत पसल संचालन हुनेछन् । त्यसैगरी, साल्ट ट्रेडिङले काठमाडौं उपत्यकामा तीनवटा घुम्तीसहित ११ वटा पसल सञ्चालन गर्ने छ भने उपत्यका बाहिर २४ वटा पसल सञ्चालन गर्नेछ ।

काठमाण्डौ उपत्यका बाहिर बनेपा, बिर्तामोड, विराटनगर, राजविराज, लहान लगायतका सहरमा साल्ट ट्रेडिङको सहुलियत पसल सञ्चालन गर्ने विभागले जनाएको छ ।
एकिकृत सहुलियत पसल उद्घाटन गर्दै उद्योग वाणज्य तथा आपूर्ति मन्त्री मातृका यादवले आम उपभोक्तालाई महानपर्वमा खुशी र सुखि बनाउन सकारले सुहुलिय पसल सञ्चालमा ल्याइएको बताउनु भयो ।

कार्यक्रमका अध्यक्ष तथा उद्योग वाणज्य तथा आपूर्ति सचिव बैकुण्ठ अर्यालले महानचाडपर्वलाई मात्रै लक्षित नभई संधै सञ्चालन हुनुपर्ने तर्क गर्नुभयो । यस तीन कम्पनीले सञ्चालन गर्ने सामाग्रीहरु तीनै कम्पनीबाट उत्पादित समान बेच्ने सचिव आर्यालले बताए ।

कार्यक्रममा आर्का उद्योग वाणज्य तथा आपूर्ति सचिव यामकुमारी खतिवडा, साल्ट्रेडिङ्ग कर्पाेरेशन कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ, दुग्ध विकास संस्थानका महानिर्देशक, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले आ–आफ्नो धारणा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्