कुनै पनि हालतमा स्वास्थ्य परीक्षण नगरिकन खसी बोका नेपाल ल्याउन दिँदैनौँ : कृषि मन्त्री खनाल

काठमाण्डौ , भदौ ४ । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले कुनै पनि हालतमा स्वास्थ परीक्षण नगरीकन खसी बोका नेपाल ल्याउन नदिने बताएका छन् ।

बुधबार काठमाण्डौमा भएको सार्वजनिक निजी उत्पादक साझेदारी मोडेलमा बधशाला निर्माणसम्बन्धी कार्यक्रममा मन्त्री खनालले यस्तो बताएका हुनु उनले भने , ‘संसारभरिका रोग हुल्ने गरी स्वास्थ्य परीक्षण नगरिकन खसी बोका नेपाल ल्याउन दिँदैनौँ ।’

नेपाल विश्व स्वास्थ संगठनको राष्ट्र भएकोले खसी बोका आयातमा प्रतिबन्ध नलगाएको भन्दै मन्त्री खनालले स्वस्थ र निरोगी खसीबोका मात्र ल्याउन दिने बताए ।

निरोगिताको प्रमाणपत्रका आधारमा आयात गर्न आग्रह गर्दा केही व्यावसायीले घेराबन्दी गर्न खोजेको मन्त्री खनालको भनाइ थियो । ‘दशैँमा त देख्लास् भनेका छन्, मैले केही फरक पर्दैन, केही कम खाइएला नभए कुखुरामा हामी आत्मनिर्भर छौँ, त्यसैमा जोड गर्नु पर्ला भनेको छु’, उनले भने ।
आफ्नो उत्पादन प्रयाप्त भए आयात गर्न नपर्ने भएकाले आफैँ उत्पादनमा जोड दिएर स्वस्थकर खान सकिने खनालले बताए ।

कार्यक्रममा हेफर नेपालले विराटनगर, बुटवल, पोखरा, भरतपुर र कोहलपुरमा ५ ओटा आधुनिक वधशाला निर्माण गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ ।

त्यसका लागि भौतिक संरचना निर्माणका लागि पालिका र प्रदेश सरकारबाट ३२ करोड रुपैयाँ र खसी बाख्रा उत्पादक महिला किसान र मासु व्यवसायीको तर्फबाट २२ करोड रुपैयाँभन्दा बढीको सेयर लगानीको प्रतिबद्धता आएको हेफरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्