कार्यकर्तालाई चुनाव कसरी जित्ने भनेर प्रशिक्षण दिने बेला आयोः सभापति देउवा

काठमाडौं, २ भदौ । उप–निर्वाचन नजिकिंदै गर्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी नेता कार्यकर्तालाई चुनाव कसरी जित्ने भनेर प्रशिक्षण दिने बेला आएको बताएका छन् ।

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबार रुपन्देहीको भैरहवामा आयोजना गरेको कार्यक्रमलाइृ सम्बोधन गर्दै कांग्रेस सभापति देउवाले उप निर्वाचन आएको र राजनीति भोटको भएका साथै सम्पूर्ण कार्यकर्तालाई प्रशिक्षण गर्ने बेला आएको बताएका हुन् ।

चुनाव आफ्नो पक्षमा पार्नका लागि मिठो भाषणले मात्र चुनाव नजित्ने भन्दै जनतामा एजेण्डासहित जान उनले नेताहरुलाई आग्रह गरे । ‘भाषणले भोट आउने भए मलाई भन्दा धेरै राम्रो बोल्न आउने नेताहरु छन् । तर हारे,’ उनले भने, ‘अब चुनाव कसरी जित्ने भनेर प्रशिक्षण दिनुपर्ने बेला आएको छ ।’

कांग्रेसमा जस्तो समावेशी अरु पार्टीमा नभएको तर, त्यसअनुसार भोट नआएको देउवाले बताए । हरेक समुदायले पार्टीमा जति प्रतिशत आरक्षण पाएका छन्, त्यसअनुसार भोट ल्याउनुपर्ने भन्दै उनले भने, ‘महिलाले ३३ प्रतिशत ल्याउनुर्पयो । आदिजासी जानजाति सबैले प्रतिशतअनुसार भोट ल्याउनुर्पयो ।’

कार्यक्रमस्थलमा चारतारे झण्डा मात्र राखिएको देखाउँदै उनले रुख खोई भन्ने प्रश्न गरे । अरु पार्टीको कार्यक्रममा झण्डासँगै चुनाव चिह्न पनि राख्ने गरेको उल्लेख गर्दै देउवाले भने, ‘यहाँ रुख कहिँ छ ? चारतारे झण्डा मात्र छ ।’ प्रश्न गर्दै उनले यदि रुख अरुले नपाउने भए चारतारे झण्डा नै चुनाव चिन्ह राख्न हुन्थ्यो भन्ने ठट्टा समेत गरे ।

देउवाअघि कार्यक्रमलाई सम्बोधन गरेका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा गुट अन्त्य गर्नुपर्ने र यसका लागि न्याय, निश्पक्षता र पारदर्शीता हुनुपर्ने बताएका थिए ।

देउवाले सम्बोधनको सुरुमै वरिष्ठ नेता पौडेललाई जवाफ दिए । उनले पारदर्शिता हुनुपर्छ भन्नु राम्रो भएको बताए । त्यसका लागि पार्टीको केन्द्रीय कार्यसमितिको बैठक पत्रकारहरुलाई खुला गर्न चुनौती दिएका छन् । नेताहरुले ठूलठूला कुुरा गर्ने नेताहरु बैठकमा त्यसरी नबोल्ने गरेको भन्दै उनले भने, ‘यसो गरेपछि कसले बाहिर मात्र बढ्दा बोल्दारहेछन् थाहा भइहाल्छ ।’ अरु पार्टीमा बाहिर नबोल्ने, भित्र झगडा गर्ने गरेको तर कांग्रेसमा उल्टो भएको देउवाले बताए ।

पार्टी सभापति देउवाले अन्तर्घात गर्ने र नेतृत्वविरुद्ध बोल्नेहरुलाई अनुशासनको कारबाही गर्नुपर्ने बताए ।

अन्तरघात गर्नेहरुलाई कारबाही नगर्ने हो भने कांग्रेसले कहिल्यै चुनाव नजित्ने उनको दाबी छ । देउवाले भने, ‘जथाभावी होइन, बदमासी गर्नेलाई प्रमाणका आधारमा कारबाही गर्ने हो । नभए यो अराजक पार्टी भइहाल्छ नि ।’

कार्यक्रममा वरिष्ठ नेता पौडेलले जनताले झुक्किएर कम्युनिस्टलाई भोट हालेको भन्दै कांग्रेसले आफूलाई भरोसायोग्य पार्टी बनाउनुपर्ने बताए । त्यो क्षमता कांग्रेसमा रहेको उनले बताए ।

कम्युनिस्टले सरकारमा आएको २ वर्षमा कति उद्योग स्थापना र्गयो भन्ने प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्