उपनिर्वाचनबाटै पार्टीको एकता सुरुवातः सभापति देउवा
काठमाडौं, साउन ३१ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपनिर्वाचनबाटै पार्टीको एकता सुरु हुने बताएका छन् ।
आगामि मंसिरमा हुने उप–निर्वाचनले कांग्रेसको दुई गुटलाई एउटै पार्टी बनाउने गरि एकता गराउनुपर्ने सभापति देउवाले बताए ।
प्रतिनिधिसभातर्फ कास्की–२ लगायतका क्षेत्रमा उपनिर्वाचन हुँदैछ। सबै मिलेर उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारलाई जिताएर एकताको सन्देश दिनुपर्ने उनले बताए ।
कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गण्डकी प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि आयोजना गरिएको दुईदिने प्रदेशस्तरीय प्रशिक्षणमा सभापति देउवाले अब पनि दुई पार्टीको रुप देखाउन नहुने बताए।
एमाले र माओवादी दुईवटा पार्टी मिलेर एक बनिरहँदा सिंगो पार्टी रहेको कांग्रेस दुईवटा देखिएको उनले बताए। त्यसैले एकपार्टी बनेर निर्वाचनमा जित हासिल गर्नुपर्ने उनले बताए।
सभापति देउवाले अहिलेको सरकारले बिस्तारै बिस्तारै एकदलीय व्यवस्थाको सुरुवात गर्न थालेको आरोप समेत लगाए ।
सरकारले ल्याएका केही विधेयकको संसदमा विरोध गरेकैले फिर्ता गराएपनि सरकार एकदलिय शासन लाद्न चाहेको उनले बताए । सरकारले मिडिया र मानवअधिकार आयोगमाथि हस्तक्षेप गर्न खोजेको पनि देउवाले बताए।
यस्तै कार्यक्रममा अर्को वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई पहिलो बनाउन चुनौती रहेको बताए । जनताले अहिले कांग्रेसलाई भरोसा गरेको पार्टीको रुपमा खोजेको पौडेलको भनाई थियो
प्रतिक्रिया दिनुहोस्