परराष्ट्रमन्त्री ज्ञवाली भन्छन् नेपाल–भारत सम्बन्ध अब आर्थिक क्षेत्रतर्फ केन्द्रित हुनुपर्छ

काठमाडौं, साउन २९ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र भारतबीचको सम्बन्ध अब आर्थिक क्षेत्रतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।


बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री ज्ञवालीले नेपालले अघि सारेको समृद्धि र विकासको लक्ष्य हासिल गर्न दुवै देशबीच आर्थिक साझेदारीको सम्बन्ध बलियो हुनुपर्ने बताए ।

सार्थक आर्थिक साझेदारीले नै दुई मुलुकको हित हुने उनको भनाइ थियो ।

मन्त्री ज्ञवालीले जलमार्गको विकासका लागि दुवै देशले गृहकार्य गरिरहेकाले २०२० सम्ममा यससम्बन्धी धेरै कामहरु भइसक्ने दाबी गरे ।

भारतसँगको वाणिज्य सन्धि पुनरावलोकन गर्ने काम पनि भइरहेको बताउँदै उनले भारतसँगको आर्थिक सम्बन्धलाई उचाइमा र्पुयाउन सरकारले गृहकार्य थालिसकेको बताए ।

पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. रामशरण महतले नेपालको आर्थिक क्षेत्रमा सुधारका निम्ति भारतको सहयोग महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मन्जीवसिंह पुरीले नेपाल र भारतको सम्बन्ध बहुआयामिक रहेको भन्दै आगामी दिनमा सम्बन्धलाई अझ प्रगाढ राख्न भारत सरकार सचेत रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्